एजेन्सी–मोरक्कोका लागि बंगलादेशका राजदूत हारुन अल रसिदले बंगलादेश सरकारको नेतृत्व गरेका मोहम्मद युनुस ठग भएको बताएका छन्।
रसिदले युनुसमाथि देशमा अराजकता फैलाउने, धर्मनिरपेक्ष संरचना तोड्ने, कट्टरपन्थीलाई समर्थन गर्ने र शेख हसिना सरकारलाई ढाल्ने षड्यन्त्र गरेको गम्भीर आरोप लगाएका छन्।
रसिदले फेसबुकमा लामो पोस्ट गरेका छन्। आफ्नो पोस्टमा उनले बंगलादेश पूर्ण रूपमा आतंक र अराजकताको चपेटामा रहेको दाबी गरेका छन्। युनुसको शासनकालमा मीडियालाई दमन गरिएको र अत्याचारका समाचार बाहिर नआएको रसिदको आरोप छ।
बंगलादेशमा मानवअधिकार उल्लङ्घन भइरहेको र देश संकटमा पर्दै गएको तर यो देख्दादेख्दै पनि विश्व मौन रहेको रसिदले बताएका छन्। उनले यस्तो अत्याचारी शासन गर्ने युनुसविरुद्ध कारबाही गर्न पश्चिमा देशहरूलाई पनि अपिल गरेका छन्।
युनुस सरकारले कट्टरपन्थीहरूलाई खुला छुट दिएको‚ बंगलादेशको धर्मनिरपेक्ष र सांस्कृतिक पहिचानलाई ध्वस्त पारिरहेको उनले बताएका छन्। कट्टरपन्थीहरूले संग्रहालय, मूर्ति र सांस्कृतिक प्रतीक मात्र नष्ट गर्दैनन्, तिनीहरूले सयौं सुफी दरगाह र हिन्दू मन्दिर पनि भत्काएका छन्।
रसिदले यतिखेर महिलामाथि सबैभन्दा बढी अत्याचार भइरहेको बताउँछन्। अल्पसंख्यक मानिसहरू डराइरहेका छन्। हिजब-उतत-तहरिर, इस्लामिक स्टेट र अलकायदा जस्ता संगठनहरूले खुलेआम इस्लामिक शासनको माग गरिरहेका छन्। रसिदको दाबी छ कि यी मानिसहरूले जुलाईमा हसिनाको सरकार पतन भएदेखि नै देशको अवस्था कमजोर पार्दै आएका छन्। अहिले उनीहरूले युनुसको समर्थन पनि पाइरहेका छन्।
रसिदले देशका संस्थापक शेख मुजिब-उर रहमान र उनकी छोरी शेख हसिना दुवै कट्टरपन्थीको सिकार भएको बताए।
रसिद २०२३ देखि मोरक्कोका लागि बंगलादेशको राजदूत रहेका छन्। उनले क्यानडास्थित बंगलादेशी उच्चायोगमा गरिसकेका छन्। उनले इटाली, इजिप्ट, मेक्सिको सिटी र स्पेनमा रहेको बंगलादेशका नियोगमा विभिन्न पद सम्हालिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।