भद्रपुर- सीप र जागर भयो भने सानो लगानीले स्वदेशमै मासिक रु एक लाखदेखि दुई लाखसम्म कमाउन सकिन्छ, भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएकf छन्, झापा अर्जुनधारा–९ का उद्यमी दिनानाथ शिवाकोटी।
उनले आफ्नै घरमा ‘शिव बाबा अचार उद्योग' सञ्चालन गरेर विभिन्न २० प्रकारका अचार उत्पादन बजारमा ल्याएका छन्। दश वर्षअघि पाँच लाख रुपैयाँ पूँजी लगानी गरेर साना तथा घरेलु व्यवसायको रुपमा शुरु गरिएको अचार उद्योगबाट उहाँले अहिले कम्तीमा मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेको बताउनुभयो।
उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर हेटौँडा, पोखरा र काठमाडौँ बजारमासमेत बढ्दै गएको छ। उद्योगबाट वार्षिक १० हजार किलोग्राम विभिन्न ब्राण्डका अचार उत्पादन हुँदै आएको छ।
अहिलेसम्म रु ५० लाख लगानी भइसकेको सो उद्योगमा आठ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। अचार बनाउन धेरै लगानी नचाहिने र बजारमा सजिलै बिक्री हुने भएकाले महिला दिदीबहिनीले सीप सिकेर यस्ता आयमूलक व्यवसायमा लाग्नुपर्ने उनको सुझाव छ।
अचार बनाउनका लागि स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिँदै आएको हुँदा यसबाट कृषि क्षेत्रकै समग्र विकासमा सघाउ पुगिरहेको उहाँको धारणा छ।
पाँचवर्ष अघिसम्म विर्तामोड देवीबस्तीमा भाडाको घरमा सञ्चालन हुँदै आएको उक्त अचार उद्योगलाई सञ्चालक शिवाकोटीले अहिले आफ्नै घरमा सारेका छन्।
उद्योगकै लागि भनेर ठूला ठूला दुई कोठे पक्की भवन उहाँले निर्माण गरेका छन्। एउटा भवनमा अचार उत्पादन हुन्छ र अर्कोमा तालीम सञ्चालन हुने गरेको छ। उहाँको उद्योगमा अकबरे दाना, अकबरे पेस्ट, टिमुर–लसुनको पेस्ट, अकबरे–तामा, मिक्स आचार, कागती दाना, कागती पेस्ट, किबी, स्याऊ, मेथीको पेस्ट, करेला लगायतका विभिन्न फ्लेवरका अचार बन्ने गरेको छ।
उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, किबी, बासको तामा, टिमुर, लसुन, करेला लगायतका फलफूल झापा र इलामस्थित कृषकको खेतबारीबाटै ल्याइने गरिएको उनले बताए।
उद्योग खोल्नु अघि उनले इटहरीको रिजाल टाँसी इन्डस्ट्रिज प्रालिलाई झापाबाट कच्चा पदार्थको रुपमा फलफूल पठाउने व्यापार गर्थे। त्यही क्रममा अचार बनाउने सीप सिक्न पाएपछि शिवाकोटीले रिजाल टाँसी उद्योगका मेनेजर केडी शर्मा र पर्चेज मेनेजर विष्णु न्यौपानेको प्रेरणाले अचार उद्योगमा होमिएको बताए।
अर्जुनधारा नगरपालिकाका कृषि अधिकृत सालिकराम भट्टराईले शिवाकोटी झापाको अचार उद्यमी मात्र नभएर एउटा कुशल प्रशिक्षक भएको बताउँछन्। शिवाकोटीले विगत पाँच वर्षदेखि पूर्वाञ्चलका विभिन्न जिल्लामा एक सय भन्दा बढी समूहलाई अचार बनाउने तालमि प्रदान गरिसक्नु भएको छ।
उनीसँग तालिम लिएकाले झापामा दर्जनौं घरेलु उद्योग सञ्चालन गर्न थालिसकेका छन्। म आफू मात्र उद्योगी भएर हुँदैन, अरुलाई पनि सीप सिकाएर आत्मनिर्भर बनाउनुपर्छ भन्ने सोचाइले तालीमलाई प्राथमिकता दिइरहेको छु’ शिवाकोटीले भने।
झापाको मेचीनगर, विर्तामोड, कन्काई, दमक लगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा अचार उद्योग सञ्चालनमा आइरहेका छन्। जसको श्रेय शिवाकोटीलाई नै जान्छ।
हालसम्म हातले अचार उत्पादन गरिरहेको जनाउँदै अब नयाँ प्रविधि आइसकेको हुँदा मेसिनले अचार बनाउन थाल्ने हो भने थोरै अवधिमा धेरै उत्पादन गर्न सकिने उनले बताए। अर्जुनधारा नगरपालिकासँग अचार बनाउने हाइड्रोलिक मेसिन खरिदका लागि अनुदान माग गरिएको उनले बताए।
भद्रपुरस्थित साना तथा घरेलु उद्योग कार्यालय झापाले आर्थिक वर्ष २०७४/०७५ मा सात वटा अचार उद्योग दर्ता भएको जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।