दक्षिणी चीनमा एउटा सहर छ सेन्जेन। मात्र ४० वर्ष अघिसम्म पनि सेन्जेन मछुवारहरुको गाउँ थियो। यही गाउँ हुँदै मान्छेहरु कामको खोजी गर्दै ज्यान जोखिममा राखेर समुन्द्रमा तैरदै हङकङसम्म पुग्थे।
सेन्जेनको बदलाव त्यतिबेला सुरु भयो जव देन श्याओपिङले सन् १९८० मा यो क्षेत्रमा स्पेशल इकोनोमिक जोन (एसइजेड) स्थापना गरे। जानकारहरु भन्छन्, यो नै एउटा यस्तो जग भयो जसमा सेन्जेन छोटो समयमा बलशाली भएर उभ्भिन सक्यो।
सेन्जेनको मध्य सहरमा रहेको सेन्जेन संग्रहालयमा एउटा पुरानो तस्बिर छ जहाँ सेन्जेनको खाली भाग र उद्योगमा काम गरिरहेका मानिसहरु देख्न सकिन्छ। यो दृश्यले सेन्जेनको शैशव औधोगिक कालको झल्को दिन्छ।
देन श्याओपिङ त्यतिबेला सेन्जेनमा
यही संग्राहलयमा जव देन श्याओपिङ र उनकी बहिनीका तस्बिरसहित उनीहरुले प्रयोग गरेका निजी सामग्रीहरु पनि राखिएको छ।
सन् ८०–९० को दशकमा सेन्जेनका उद्योगहरुमा चीनका दुर्गम र गरीब गाउँहरुबाट साह्रै न्यून ज्यालामा काम गर्न मानिसहरु आउँथे। खोकुलो कर र श्रम कानुनका कारण यहाँका कम्पनीहरुले सस्तो मूल्यमा आफ्ना उत्पादनहरु बढाउँदै लगे। यसै कारण पनि यहाँका उद्योगहरु दुनियामै कहलिएका उद्योगमा दर्ज हुन थाले।
तन्नेरी र आधुनिक शहर
सेन्जेनलाई अहिले कसैले ‘चीनको सिलिकन भ्याली’ त कसैले ‘दुनियाको हार्डवेयर केन्द्र’ को संज्ञा दिन्छन्। यो शहर वास्तवमा विश्व मानचित्रको तन्नेरी शहर हो। प्रविधी, आविश्कार, स्टार्ट अप र बायोटिकका लागि कहलिएको सेन्जेनलाई अहिले कसैले नकार्न सक्दैन।
तथ्यहरु के देखाउँछन् भने सेन्जेनको अर्थव्यवस्था सिङगो हङकङ तथा सिंगापुर बराबरको छ। यहाँको बन्दरगाह संसारकै सबैभन्दा बढी मालवाहक पानीजहाजहरु आवतजावत गर्ने बन्दरगाह हो। संसारकै सबैभन्दा अग्ला एक सय भवनहरुमध्ये ६ वटा त सेन्जेनमैँ छन्।
प्रदुषणरहित हावा, चौडा र चिल्ला सडक, खुरुरु दौडेका विद्युतीय बस र कारहरु, तथा वैभवपूर्ण संरचनाले सेन्जेनलाई चीनको मात्र होइन एशियाकै सबैभन्दा अलग र सुखी सहरको चरित्र दिलाइदिएका छन्। सेन्जेनले बनाएका टेन्सेन्ट, जेडटीइ र वावे जस्ता कम्पनीहरु अहिले विश्वकै नामुद नामहरु बनेका छन्।
फाइनेन्सीएल टाइम्सले लेखेको छ, ‘वावे यस्तो संस्था हो जसले अनुसन्धानका लागि मात्र गएको वर्ष १४ अरब अमेरिकी डलर खर्च गरेको देखियो।’
काविलहरुको शहर
सेन्जेन यस्तो सहर हो जहाँ सृजनशील व्यक्तिले यही भेटिने उपकरणहरु किनेर अलग प्राविधिक उत्पादनको नमूना बनाउन सक्छ, यहीँ प्रमाणीकरण गर्न सक्छ र यही बजारमा मूल्य खोज्न सक्छ। यत्ति हो त्यसका लागि तपाईँ रचनात्मक हुन भने आवश्यक छ। सेन्जेनमा स्टार्टअप सुरु गर्नेहरु भन्छन्, यही कुरा दुनियाको अर्को स्थानमा पाउन गाह्रो छ।
यसको खास कारण पनि छ। त्यो भने यहाँ हरेक किसिमका कालिगढ छन्। सस्ता र मेशिनहरु उपलब्ध छन्। तिनका पाटपूर्जा, चिप्स या पुनःनिर्माण गर्ने कारखाना पनि छन्।
एउटा उदाहरण सुनौं।
यूरोपबाट चार वर्षअघि यहाँ आएका मिलान ग्लामोसिकले बालबालिकाहरुलाई रोबोटिक्स सिकाउने एउटा सानो स्कुल खोले। स्कुलमा ५ देखि १२ वर्षसम्मका बालबालिकालाई विज्ञान, इन्जिनियरिङ, कम्प्युटर साइन्स पनि पढाइन्छ। रोबोटिक्स त भइहाल्यो। स्कुल धनीहरुका सन्तानका लागि खोलिएको हो। स्कुलको पठनपाठनको पद्धति पनि अलिक अलग छ। बालबालिकाहरुलाई समस्या देखाइन्छ र स्वयं समाधानका लागि उत्प्रेरित गरिन्छ।
यूरोपबाट चार वर्षअघि सेन्जेन आएका मिलान ग्लामोसिक
अमेरिकाको सिलिकन भ्यालीमा समेत बसेर काम गरेका मिलान भन्छन्, ‘अलग र स्तरीय काम गर्छु भन्ने सबैलाई सेन्जेनले स्वागत गर्छ। यहाँको प्रविधि विकासको रफ्तार संसारको अर्को ठाउँमा छँदै छैन।’
उनको अनुभवलाई पत्याउने हो भने, सेन्जेन हार्डवेयर मात्र होइन सफ्टवेयर विकासको पर्याय बनिरहेको छ।
विद्यूतीय सामग्रीको बजार
सेन्जेन पुग्नुभयो भने ह्वा छियाङ पेइ जान नभुल्नु। यो यस्तो लोकप्रिय सहरी हिस्सा हो जहाँ हरेक प्रकारका विद्यूतीय सामग्रीहरु किन्न पाइन्छ। तलैतला भएका वातानुकुलित भवनहरु सबै यस्तै सामग्रीले भरिएका छन्। सडक छेउछाउमा ससना स्टोरहरु समेत विद्यूतिय सामग्रीको मेला लागेको देखिन्छ।
मोवाइल, ड्रोन, चिप्स, पाटपूर्जा यहाँ के पो मिल्दैन र? यत्ति हो तपाईँलाई आवश्यकता मात्र हुन पर्यो। सेन्जेनमा यस्ता आफ्नै चरित्र बोकेका अरु बजाहरु धेरै छन्।
तथ्याङ्कहरु भन्छन्, १९७९ मा जम्मा ३० मिलियन डलरको अर्थव्यवस्था भएको सेन्जेल २०१६ मा आइपुग्थे २ सय ५६ अरब डलरको कारोबार गर्ने भइसक्यो। यहाँको गतिशिलता नै देखेर त होला भारतीय कम्पनी लवाले सन् २००९ मा आफ्ना मोवाइल, ट्यावलेट, फिचर फोनको डिजाइन तथा उत्पादका लागि यहीँ अनुसन्धान तथा विकास केन्द्र खोलेको थियो। सेन्जेनलाई नै आधार बनाएर लावाले बंगलादेश, नेपाल, मध्यपूर्व, मेक्सिको र इजिप्ट तथा अफ्रिकी देशका बजारमा आफ्ना उत्पादनहरु बेच्दै आइरहेको छ।
जब हामी सेन्जेनकै नानसानस्थित लावा कम्पनीमा पुग्यौं, कर्मचारीहरु दिउँसो कोठामा मस्तले सुतिरहेका थिए। सेन्जेनको चलनै यस्तो छ कि श्रमजीवीहरुलाई दिउँसो एक घण्टा आरामको समय दिइन्छ।
लावा कम्पनीको कार्यालय
सेन्जेनमा ५ बर्षदेखि चलिरहेको एक कम्पनीका प्रवन्ध निर्देशक रतिराम भन्छन्, ‘यहाँ छनौटको विकल्प धेरै छ। तपाई बजारमा कुनै पनि मेशिन या कलपूर्जा किन्न आउनुहुन्छ भने सस्तो मूल्यमा सबै सामग्री किन्न सक्नुहुन्छ। मान्छेहरुसँग सहजै कुराकानी गर्न सकिन्छ। विक्रेता र वितरक यति धेरै छन् कि तपाईले सस्तोमा गुणस्तरीय सामान पाउनुहुन्छ, यही कुरा दिल्लीमा सम्भव छैन।’ दिल्ली घर भएका र अहिले चिनियाँ महिलासँग बिहे गरेका रतिराम कतिपय भारतीय इन्जिनियरहरु डिजाइन, रिसर्च र उत्पादन कला सिक्न यहाँ आउने गरेको अनुभव सुनाउँछन्।
कडी नै लगानी
धेरैले एउटै चासो राख्छन्, सेन्जेन खासमा यति तिब्र रुपमा कसरी समृद्ध बन्यो? एउटै कडी के भने, यहाँ सरकारी सहयोग र लगानी जुटाउने वातावरण छ।
स्मार्ट हेडलाइट, बिल्ट इन स्पीकरजस्ता सुविधापूर्ण हेल्मेट बनाउने कम्पनी लिवालका संस्थापक ब्रायन झङले ४ वर्ष अघि मात्र आफ्नो कम्पनी सुरु गर्ने स्थान सेन्जेनलाई नै रोजेका हुन्। त्यसो त उनी सन् १९९४ मा पहिलो पटक सेन्जेन आएका रहेछन्।
झङ भन्छन्, ‘त्यो बेला सहर अलिक सानो थियो। सफा थियो। एक या दुई महिनामा कार धोए हुन्थो। त्यो बेला मेरो तलब जम्मा ६ सय युआन थियो।’ अहिले त सेन्जेनमा ६ सय युआनमा घर भाडा पनि पाइँदैन।
स्मार्ट हेडलाइट, बिल्ट इन स्पीकरजस्ता सुविधापूर्ण हेल्मेट बनाउने कम्पनी लिवालका संस्थापक ब्रायन झङ
झङको कम्पनी लिवालको ब्रान्डिङ गर्न सरकारले २५ मिलियन युआन सहायता पनि दियो उनलाई आफ्नो व्यवसाय अरु धेरै देशसम्म फैलाउन मद्दत पुग्यो। उनी भन्छन्, ‘सेन्जेनको नीति नै व्यवसायमैत्री छ। सहयोगी छ। झन् नयाँ केही आविश्कार गर्ने स्टार्ट अपलाई त यहाँ अवसर नै अवसर छ। यदि मलाई सरकारले सहयोग नगरेको भए मैले यति गर्न सक्दैनथेँ।’
सेन्जेनले गएको ४० वर्षमा आर्जेको शक्ति र सामर्थ्य यही हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।