काठमाडौं– देशभित्रको बेरोजगारी समस्या समाधान गर्न सरकारले रोजगार पोर्टल ल्याएको छ। अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ)को सहयोगमा श्रम विभागले रोजगार पोर्टल ल्याइएको हो।
आर्थिक वर्ष २०७३/०७४ मा नै रोजगार पोर्टल सञ्चालनमा ल्याइएको भएपनि प्रभावकारी नभएपछि श्रम रोजगार कार्यालयमार्फत् सक्रिय बनाउने गरी पुनः सञ्चालनमा ल्याइएको विभागले जानकारी दिएको छ।
पुनःसंरचित पोर्टलको शुक्रबार उद्घाटन गर्दै श्रम, राजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यस पोर्टलको माध्यमबाट वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा कमी आउने विश्वास व्यक्त गरे। ‘आन्तरिक श्रम बजारमा भएका कामदारका मागको सूचना यस पोर्टलमार्फत सजिलै पाउन सकिन्छ। यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक रुपमा देखिने विदेशिने युवाको लामो लाइन घटाउन सहयोग गर्नेछ।’
मन्त्री विष्टले केही वर्षभित्रमै पोर्टलमार्फत नै नेपाली कामदारहरु किन वैदेशिक रोजगारी गइरहेका छन् भन्ने समस्या समेत पहिचान गरिने बताए। ‘केही वर्षपछि राहदानी बनाउने सबैलाई यसै पोर्टलमा समेट्नेछौं। जसबाट खासमा उनीहरु किन विदेशिएका हुन् त्यो पत्ता लगाउँछौं।’, उनले भने, ‘यसबाट उनीहरुको समस्या समाधान गरी विदेशिनेको संख्या समेत घटाउने गरी काम गर्नेछौं।’
शुक्रबारदेखि नै सञ्चालनमा आउनेगरी विभागको वेबसाइटमार्फत् सञ्चालनमा ल्याइएको रोजगार पोर्टलमा विभिन्न पदहरुमा भएको मागबारे थाहा पाउन सकिन्छ। साथै पोर्टलले उपयुक्त पदमा आवेदन दिने सम्बन्धी सूचना र सहायता पनि प्रदान गर्दछ।
पोर्टलमार्फत रोजगारदाताहरूले श्रमिकको माग गर्न सक्नेछन्। पोर्टल निर्माणमा करीब १० लाख रुपैयाँ लागत खर्च भएको विभागको भनाई छ।
बेरोजगारहरुको लगत संकलन गरी बेरोजगारीको स्थिति पहिचान गर्न, रोजगारीको क्षेत्र तथा अवसरहरू खोजी गर्न र रोजगारी बजार सम्बन्धि सूचनाहरू विद्युतीय माध्यमबाट समेत प्रवाह गर्न पोर्टल सञ्चालनमा ल्याइएको हो। श्रम बजार सूचनामा सरोकारवालाको पहुँच सरल र सहज ढंगले स्थापित गर्न पोर्टल सफल हुने विभागको विश्वास छ।
रोजगार पोर्टलका सूचना प्राप्त गर्न रोजगार पोर्टलको वेवसाइट www.jobkhoj.gov.np मार्फत् पनि हेर्न सकिने विभागले जानकारी दिएको छ।
रोजगार सूचना केन्द्र, रोजगार पोर्टलका स्थापनाका उदेश्य
बेरोजगारी युवाको तंथ्याक संकलन गरी श्रम बजारमा बेरोजगारीको स्थिति पहिचान गर्न , केन्द्र तथा स्थानीय तहमा रोजगारीको क्षेत्र तथा अवसर खोजी गर्न रोजगार पोर्टल स्थापना गरिएको हो।
रोजागर सम्बन्धी सुचनाहरु विद्युतीय माध्यमबाट प्रवाह गरी श्रम बजार सुचनामा सरोकारवालाको सरल र सहज पहुँच स्थापित गर्न र श्रमिकको तथा आपूर्तिबीचको अन्तर कम रोजगार पोर्टल सञ्चालनमा ल्याइएको हो।
श्रम रोजगार कार्यालयले समेटेका क्षेत्र
रोजगार पार्टलले देशका विभिन्न स्थानमा ११ शाखा सञ्चालनमा ल्याउने भएको छ । झापा, विराटनगर, जनकपुर, वीरगञ्ज, काठमाडौँ, हेटौँडा, पोखरा, नेपालगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा कार्यालय सञ्चालनमा ल्याइने भएको हो।
कुन शाखा कुन जिल्ला लक्षित?
झापा– इलाम, झापा, पांचथर, ताप्लेजुङ
विराटनगर– भोजपुर, धनकुटा, मोरङ, सन्खुवासभा, सुनसरी, तेह्रथुम
जनकपुर– खोटाङ, ओखलढुंगा, सप्तरी, सिराह, सोलुखुम्बु, उदयपुर
वीरगञ्ज– धनुषा, दोलखा, महोत्तरी, रामेछाप, सर्लाही, सिन्धुली
काठमाडौ– काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे
हेटौंडा– बारा, चितवन, मकवानपुर, पर्सा, रौटहत, गोरखा
नेपालगन्ज– दाङ, प्युठान, रोल्पा, रुकुम, सल्यान
पोखरा– कास्की, बागलुङ, मुस्तांङ, म्याग्दी, पर्वत
बुटवल– अर्घाखाँची, गुल्मी, कपिलवस्तु, नवलपरासी, पाल्पा, रूपन्देही
सुर्खेत– सुर्खेत बांके, बर्दिया, दैलेख, जाजरकोट
धनगढी– अछाम, बझाङ, बाजुरा, डोटी, कैलाली, बैतडी, डडेलधुरा, दार्चुला, कन्चनपुर
रोजगार सूचना केन्द्रका काम
बेरोजगारहरुको लगत संकलन गर्ने , तथ्यांक विश्लेषण गर्ने अद्यावधिक गर्ने रोजगारदातहरुसंग छलफल र अन्तरक्रिया गर्ने काम रोजगार पोर्टलले गर्नेछ। रोजगारीका अवसरहरुको पहिचान गर्ने, श्रम बजार सुचना व्यवस्थापन गर्ने, रोजगारीका अवसर प्रचार–प्रसार गर्ने छ।
बेरोजगारी तथा रोजगारीका अवसर सम्बन्धि नीतिगत पृष्ठपोषण गर्ने गराउने, रोजगार मेला आयोजना गर्ने रोजागरी बजार विस्तार गर्न परामर्श सेवा प्रदान गर्नेलगायतका काम गर्ने पोर्टलको लक्ष्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।