काठमाडौं– भारतीय राज्य राजस्थानको हनुमानगढमा सोमबार बिहान भारतीय वायुसेनाको फाइटर विमान मिग–२१ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। फाइटर विमान बहलोल नगर क्षेत्रमा घरमाथि खसेको थियो।
फाइटर विमान खस्दा घरभित्र रहेका ३ जना स्थानीयको मृत्यु भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। विमानका पाइलट भने सुरक्षित छन्। विमान दुर्घटनाको संकेत पाएपछि पाइलटले प्यारासुटको मद्दतमा हाम फालेको प्रहरीले जनाएको छ।
फाइटर विमान घर माथि खस्दा घरमा रहेका ३ जना महिलाको मृत्यु भएको हो। अन्य ३ जना घाइते भएका स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
स्थानीय महिला ४५ वर्षीय बशौकौर, ६० वर्षीया बंतो र ५५ वर्षीया लिला देवीको मृत्यु भएको हो। विमानका पाइलट २५ वर्षीय राहुल अरोडा भने प्यारासुटबाट हाम फालेर ज्यान जोगाउन सफल भए। पाइलट अरोडालाई सुरतगढ पठाइएको छ।
भारतीय वायुसेनाले भनेको छ, ‘मिग-२१ ट्रेनिङ (प्रशिक्षण) उडानमा थियो। उडानका दौरान पाइलटलाई इमरजेन्सी अवस्थाको जानकारी भयो। उनले एयरक्राफ्ट सम्हाल्ने कोसिस गरे। तर सम्हालिने अवस्था नदेखिएपछि उनले विमानबाट एक्जिट हुने फैसला गरे। सुरतगढ एयरबेसबाट करिब २५ किलोमिटर टाढा पाइलट फेला परेका छन्। उनलाई सामान्य चोटपटक लागेको छ। दुर्घटनाको जाँच सुरु गरिसकेका छौं।’
दुर्घटनामा स्थानीय १८ वर्षीय सरोज, १९ वर्षीया विमला र ३२ वर्षीय वीरपाल घाइते भएका जनाइएको छ। मिग २१ क्र्यास हुँदा भएको धमाकाका कारण दुर्घटना क्षेत्रका अन्य ३/४ घरमा पनि क्षति पुगेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।