मेराे मजदुर साथी !
तपाईं याे बहुदलीय व्यवस्थामा
सक्नुहुन्न मनाउन
साँच्चिकै
‘मे एक’काे मजदुर दिवस
किनभने
तपाईं टुक्रिनु भएको छ
बहुssssssssss दलहरूमा
तपाईंको टाउको एकातिर छ भने
हातखुट्टा अर्कातिर छन्
मुटु-कलेजाे एक कुनामा छन् भने
तपाईंको फिला र पाखुराकाे मासु
अर्को कुनामा मिल्किएका छन्
तपाईं बनिसक्नुभएकाे छ
काटिएको बाख्रोकाे
भाग लगाइएकाे मासुकाे थुप्रो
सग्लो कतैबाट नदेखिने मेरो मजदुर साथी
तपाईं कसरी लगाउनसक्नुहुन्छ इन्क्लाबकाे नारा
‘संसारका मजदुर एक हाैँ’ भनेर
नपत्याए
तपाईं एक चक्कर लगाउनुहाेस् सहरलाई
तपाईंका एक हुल साथीहरू एउटा झण्डा लिएर एकातिर छन् भने
अर्को हुल; अर्को झण्डा लिएर अर्कातिर छन्
एउटै कारखानाको मजदुर
एकैथरि पीडाकाे सहयात्री
उस्तै अभावकाे साक्षी
किन मनाउँछ भिन्दाभिन्दै ठाउँमा गएर
‘मे एक’काे उही मजदुर दिवस
अनि लगाउँछ एक हुने नारा
आपसमा छुट्टिएर
ए! मेराे मजदुर साथी
तपाईंले नबुझेसम्म
‘भाइ फुटे गवार लुटे’ उखानकाे साँचो अर्थ??
भन्न सक्नुहुन्न राम्रोसँग
‘मजदुर एकता जिन्दावाद’ भनेर।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।