काठमाडौं– नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा घटे पनि विदेश पुग्नेहरुको कमाइबाट भित्रिने रेमिट्यान्स (विप्रेषण)मा भने बढेको छ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजानिक गरेको गत आर्थिक वर्ष (आव) ०७४/७५ को वार्षिक प्रतिवेदन अनुसार रेमिट्यान्स आप्रवाहमा ८ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ।
बैंकले सार्वजानिक गरेको प्रतिवेदन अनुसार गत आवमा ७ खर्ब ५५ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यसअघि आव २०७३/०७४ मा ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ तथा आव २०७२/०७३ मा ६ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।
अघिल्लो आवमा ४.६ प्रतिशत रहेको रेमिट्यान्स वृद्धिदर गत आवमा ८.६ प्रतिशत पुगेको हो ।

सबैभन्दा धेरै रेमिट्यान्स मलेसियाबाट
मलेसिया रोजगारीमा जाने श्रमिकको प्रक्रिया रोकिएपनि गत आवमा त्यहाँबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्रिएको बैंकको तथ्यांकमा उल्लेख छ। गत आवमा भित्रिएको कुल रेमिट्यान्सको २९ प्रतिशत हिस्सा मलेसियाको रहेको बैंकले जनाएको छ।
मलेसियापछि धेरै रेमिट्यान्स कतारबाट भित्रिएको छ। कुल हिस्सामध्ये कतारबाट २८ दशमलब ८, युएईबाट १६ दशमलब ८, साउदी अरबबाट,११ दशमलब ४, कुवेतबाट ४ दशमलब ९, बहराइनबाट १ दबमलब ४ र दक्षिण कोरियाबाट १ दशमलब ३ प्रतिशत रेमिट्यान्स गत आवमा नेपाल भित्रिएको छ। सबैभन्दा कम रेमिट्यान्स कोरियाबाट भित्रिएको देखिन्छ। मलेसिया र खाडीका ६ देशबाट धेरै रेमिट्यान्स नेपाल आउने गरेको हो।
विदेशिने नेपालीको संख्यामा १०.१ प्रतिशतले गिरावट
श्रम स्वीकृति (पुनः श्रमस्वीकृति बाहेक)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आव २०७४/०७५ मा अघिल्लो वर्षको तुलनामा १० दशालब १ प्रतिशतले घटेको बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा भने यो संख्यामा ४ दशमलब ७ प्रतिशतले गिरावट आएको थियो।

बैंकका अनुसार गत आव मलेसिया, संयुक्त अरब इमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ भने साउदी अरब, कतार लगायतका देशमा जाने कामदारको संख्यामा गिरावट आएको छ।
गत आर्थिक वर्षमा कामको खोजीमा ६ लाख ३३ हजार युवा विदेशिएका थिए। आर्थिक वर्ष २०७३/०७४ मा संस्थागत र व्यक्तिगत गरी यो संख्या ६ लाख ५६ हजार ८ सय थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।