काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७४/०७५ मा निजी क्षेत्रमा प्रवाहित कर्जा बढाएका छन्। वित्तीय संस्थाहरुको निजी क्षेत्रमा प्रवाहित कर्जा अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को तुलनामा २२ दशमलब ५ प्रतिशले बढेको हो।
अघिल्लो आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाहित कर्जा १८ दशमलब २ प्रतिशतले बढेको थियो।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह २२ दशमलब ३ प्रतिशतले बढेको छ। त्यस्तै, विकास बैंकहरुको कर्जा प्रवाह २५ दशमलब ६ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह १६ दशमलब १ प्रतिशतले बढेको छ।
वित्तीय संस्थाहरुले सबैभन्दा बढी कृषि क्षेत्रतर्फको कर्जा प्रवाह बढाएका छन्। कृषि क्षेत्रको कर्जा प्रवाह गत आर्थिक वर्षको तुलनामा ५० दशमलब ८ प्रतिशतले बढेको छ भने निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह सबैभन्दा थोरै १९ दशमलब ३ प्रतिशतले बढेको छ।
कुन क्षेत्रको कर्जा प्रवाह कति प्रतिशतले बढ्यो?
कृषि क्षेत्रतर्फको कर्जा– ५०.८
औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा– २०.६
निर्माण क्षेत्रतर्फको कर्जा– १९.३
थोक तथा खुद्रा व्यापारतर्फको कर्जा– २२.४
सेवा क्षेत्रका उद्योगतर्फको कर्जा– २६.३
यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा– २६.७
आर्थिक वर्ष २०७४/०७५ मा बैंक तथा वित्तीय संस्थाहरुको लगानी रहेको कर्जामध्ये सबैभन्दा धेरै घरजग्गा धितो रहेको छ। लगानीमा रहिरहेको कर्जामध्ये ६१ दशमलब ७ प्रतिशत हिस्सा घरजग्गा धितोको रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो धितोमा प्रवाहित कर्जा कुल कर्जाको ६० दशमलब ९ प्रतिशत थियो।
त्यस्तै चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को हिस्सा १४ दशमलब ४ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा १३ दशमलब ९ प्रतिशत रहेको थियो।
गत वर्ष वाणिज्य बैंकहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७६ दशमलब ५ प्रतिशतले बढी १ सय १३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा ११ दशमलब २ प्रतिशतले घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।