काठमाडौं– अर्थ समितिले नेपाल राष्ट्र बैंकसँग विवरण माग गरेको छ। माग गरिएको विवरण एक साताभित्र समितिमा पेश गर्न समितिले राष्ट्र बैंकलाई निर्देशन दिएको छ।
लगातार २ वर्षदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) को अभाव हुन थालेपछि अर्थ समितिले तरलता समस्या समधानको उपायसहित अन्य विवरण ल्याउन राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाललाई निर्देशन दिएको हो।
अर्थ समितिको बैठकमा सहभागी अधिकांश सांसदहरुले बजारमा तरलताको अभाव हाबी भएको र लगानीको वातावरण सिर्जना हुन नसकेको गुनासो व्यक्त गरेका थिए। तरलताको अन्त्य भएसँगै लगानीकर्तालाई हरेक क्षेत्रमा लगानी गर्न सहज हुने उनीहरुले बताए।
पूर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेले राष्ट्र बैंकले पुँजी वृद्धि योजना ल्याउँदा पनि तरलता सहज हुन नसकेको बताएका छन्। उनले वित्तीय संस्थाहरुले छोटो अवधिको निक्षेप संकलन गरेर लामो अवधिसम्म लगानी गर्न नसकेको बताए।
त्यस्तै, सांसद श्यामकुमर श्रेष्ठले राष्ट्र बैंकले लगानीकर्ताको लागि लगानीको वातावरण सिर्जना गर्न नसकेको भनाइ राखे।
यस्तो छ अर्थ समितिले राष्ट्र बैंकसँग मागेको विवरण
–लामो अवधिको लगानी सुनिश्चितताको लागि लगानीयोग्य साधन र पुँजी परिचालन गर्ने योजना र आधार
–तरलता सामस्या नआउने अवस्था सिर्जजना गर्नको लागि राष्ट्र बैंकको कार्ययोजना
–बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने ब्याजदर र ऋणमा लिने ब्याजदर सम्बन्धी निर्देशन र भावी योजना
–बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको ऋणको क्षेत्रगत वित्तीय विवरण र खराब ऋणको अवस्था
–बैंक तथा वित्तीय संस्थाको ५ वर्षको विभिन्न (निक्षेप, कर्जा, तरलता, नाफा/घाटा) लगनयतको तुलनात्मक अध्ययन
–निक्षेप र कर्जाको औसत अवधिको विवरण
–वित्तीय संस्थाको निक्षेप तथा कर्जाको पोषण अवधि (छोटो समयको लगानी र लामो समयसम्मको लगानी) को अवधि
–सबै संघ, प्रदेश र स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुर्याउन समयसीमा माग
–वित्तीय क्षेत्र सुधार कार्यक्रमको अवस्था र यसको प्रभावको विवरण
–मर्जर/एक्युजिसनपश्चात् बैंक तथा वित्तीय संस्थामा देखिएको असर र प्रभावको अवस्था
–बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने कार्य र यसको प्रभावको विवरण
–विगत ५ वर्षको मौद्रिक नीतिको प्रमुख व्यवस्था र त्यसको कार्यान्वयनको अवस्थाको विवरण
–पहिचान गरिएको समस्याग्रस्त बैंक तथा वित्तीय संस्था र सुधारको लागि दिइएको निर्देशन, भएका कारबाही र वर्तमान अवस्थाको विवरण
–मौद्रिक नीतिको कार्यान्वयनको लागि कार्ययोजना
–विपन्न कर्जा वास्तविक विपन्नले कम लागतमा उपयोग गर्न सक्ने अवस्थाको लागि भएको प्रयासका विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।