काठमाडौं– नेकपाका सांसद महेश बस्नेतले हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्। अर्थ समितिको बैठकमा बोल्दै सांसद बस्नेतले ठूला नोटको प्रतिबन्ध लगाउने वित्तिकै आफैं सम्पत्ति शुद्धिकरण निवारण हुने बताएका हुन्।
उनले सम्पत्ति शुद्धिकरण ठूलो समस्याको रुपमा रहेकाले त्यसको निवारणको लागि ठूला नोटको प्रतिबन्ध गरेर नयाँ नोट प्रचलनमा ल्याउनुपर्ने बताए। उनले भारतले निश्चित समयका लागि नोट प्रतिबन्ध गरेजस्तै नेपालले पनि त्यस्तै गर्नुपर्ने धारणा राखे।
त्यस्तै सांसद बस्नेतले नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाललाई बैंकले राम्रोसँग वित्तीय संस्थाको सुपरीवेक्षण गर्न नसकेको गुनासो व्यक्त गरे। साथै उनले गभर्नरसँग हाल राष्ट्र बैंकसँग भएको सुनचाँदीको मौज्दात बुझेका छन्। राष्ट्र बैंकसँग हाल २८ अर्ब रुपैयाँ बराबरको सुन चाँदी मौज्दात रहेको गभर्नर नेपालले समितिको बैठकमा जानकारी गराए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।