काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सार प्रमुखहरूसँग भन्सार नाकाबाट क्रमशः राजश्व कम हुँदै जानुको कारण माग गरेका छन्।
सोमबार काठमाडौंमा भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात निर्यातको प्रगति प्रतिवेदन मन्त्रालयलाई बुझाउन माग गरेका हुन्।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजश्वमा गिरावट आएको भन्दै राजश्व गिरावट आउनुको कारण दिन विभागलाई निर्देशन दिए।
अर्थमन्त्री महतले कुन भन्सार नाकामा कस्ता प्रकृतिका वस्तु आयात निर्यात भइरहेका छन् सोको बारेमा वास्तविक तथ्यांक समेत उपलब्ध गराउन भनेका छन्। अर्थमन्त्री महतले भन्सार नाकाहरूमा वस्तु आयात कम भइ वा चोरी पैठारीका कारण राजश्व संकलन कम भएको हो, त्यसको वास्तविक तथ्यांक विभाग प्रमुखले अर्थ मन्त्रालयलाई बुझाउन निर्देशन दिए।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका भन्सारमा राजश्व चुहावट भएको भन्ने व्यापक खबर आइरहेको भन्दै उनले भन्सार विभागको नेतृत्वले गम्भीरताकासाथ लिन आग्रह गरे।
मन्त्री महतले भन्सार नाकाबाट नै सामान बोकेका धेरै ट्रकहरू नेपाल भित्रिएको खबर बाहिर आएको भन्दै त्यसतर्फ भन्सार प्रमुखहरूको ध्यान जान आवश्वयक रहेको बताए। उनले भन्सार नाकाबाट नै विभिन्न सामानहरू चेकजाँच नगरी भित्रिएको खबरका विषयमा भन्सार सचिवको नेतृत्वले सत्यतथ्य जानकारी गराउन निर्देशन दिए।
उनले भन्सारमा हुने चुहावट रोक्नका लागि राजश्व सचिव, भन्सार विभाग प्रमुखको सक्षम नेतृत्व चाहिएको बताए। उनले राजश्व सचिव र भन्सार विभागका विज्ञहरूले बजेट बनाउँदा उपयुक्त सुझाव दिन पनि आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।