राजविराज– नियमित विद्युत आपूर्ति, सुरक्षालगायतका ६ बुँदे माग राखी सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सोमबार तालाबन्दी गरिएको छ।
सरकारी उपेक्षा र रेखदेखको अभावमा औद्योगिक क्षेत्र लथालिङ्ग भएको भन्दै उद्योगका सञ्चालकहरुले औद्योगिक क्षेत्रमा तालाबन्दी गरेका हुन्। उनीहरुले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई माग पत्र बुझाउँदै तालाबन्दीपछि धर्ना समेत दिएका छन्।
नियमित विद्युत आपूर्तिका लागि छुट्टै फिडरको व्यवस्था, गत वर्ष बाढीले भत्काएको पर्खाल (कम्पाउन्ड वाल) निर्माण, सामान्य वर्षामा पनि औद्यौगिक क्षेत्र डुवानमा पर्ने समस्या सामाधान गर्न पानीको निकासका लागि उचित व्यवस्था, पानीका लागि बोरिङ्गको व्यवस्था, औद्योगिक सुरक्षा बलको व्यवस्था तथा उद्योगमा बाढी पसेर उपकरणहरुमा भएको क्षतिको यकिन गरी क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
यसका साथै उद्योग सञ्चालनका लागि आवश्यक बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत, टेलिफोन लगायतका सम्पूर्ण सुविधा उपलब्ध भएपनि हाल सञ्चालनमा छैनन्।

‘सरकारी स्तरबाट हामीले पाउनु पर्ने कुनै पनि सेवासुविधा छैन’, कोशी पोलिमर्स उद्योगका सञ्चालक प्रमेश यादवले भने, ‘व्यवस्थापन कार्यालयले पूरा गर्नुपर्ने काम पनि नगर्दा हाम्रो उद्योग÷व्यवसाय संकटमा परेको छ।’ समस्या समाधानका लागि पटक–पटक व्यवस्थापन कार्यालयमा गरिएको आग्रह सुनुवाइ नभएपछि विरोधमा उत्रनु परेको उनले बताए।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख दिपकराज आचार्यले आवश्यक बजेट नहुँदा उद्योगी व्यवसायीको माग पूरा गर्न नसकिएको बताउँदै सम्बन्धित निकायमा आफूले पनि पहल गरिरहेको बताए।
भारत सरकारको सहयोगमा २०४४ सालमा स्थापित यो औद्योगिक क्षेत्र २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। सप्तरी सदरमुकाम राजविराजबाट चार किलोमिटर उत्तर रुपनी गाउँपालिकामा अवस्थित यो औद्योगिक क्षेत्र झन्डै २२ बिघा (२ सय ९४ रोपनी) क्षेत्रफलमा फैलिएको छ।
औद्योगिक क्षेत्रमा १० वटा उद्योग सञ्चालन गर्नसक्ने क्षमता भएपनि हाल कोशी पोलीमर्स, मिलन डेरी, कृष्णा खाद्य, महालक्ष्मी र पद्य ज्योति प्लाष्टिक उद्योग गरी ५ वटा उद्योग मात्र सञ्चालनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।