काठमाडौं– नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य हालसम्मकै उच्च अंकमा पुगेको छ। साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) तोलामा २ हजार रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च अंकमा पुगेको हो।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ। तेजाबी सुन भने तोलामा १ हजार ९५० रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ।
यसअघि सुनको मूल्यले गत चैत ५ गते उच्च अंकको रेकर्ड राखेको थियो। चैत ५ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ पुगेको थियो।
यस्तै, गत माघ १९ गते पनि सूनको मूल्यले सर्वाधिक उच्च अंकको रेकर्ड राखेको थियो। माघ १९ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको असर नेपाली बजारमा देखिएको सुनचाँदी व्यवसायी संघले जनाएको छ।
बुधबार चाँदीको मूल्य तोलामा ३४ रुपैयाँ ५० पैसाले बढेर प्रतितोला १ हजार २३४ रुपैयाँ ५० पैसा कायम भएको छ। यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।