काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारण सभाबाट नयाँ नेतृत्वका लागि अञ्जन श्रेष्ठको समूहले उम्मेदवारी दर्ता गराएको छ।
यही चैत २८ र २९ गते हुने साधारण सभाबाट वरिष्ठ उपाध्यक्षसहितको नयाँ नेतृत्व निर्वाचनमार्फत् चयन हुँदैछ।
यसका लागि मंगलबार उक्त समूहले उम्मेदवारी दर्ता गराएको हो।
‘विविधतामा एकता, सामूहिकतामा भरोसा’ नारासहित साधारण सभामा सोमिएको यो समूहबाट वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ, जिल्ला नगरतर्फको उपाध्यक्षमा अरूणराज सुमार्गी, वस्तुगत तर्फको उपाध्यक्षमा मनिषलाल प्रधान र एशोसिएटतर्फ भरतराज आचार्यले उम्मेदवारी दिएका छन्।

आचार्यले यसअघि वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको समूहबाट उम्मेदवारी घोषणा गरेका थिए। आचार्यलाई अञ्जन श्रेष्ठको समूहले पनि समर्थन गरेपछि उनी दुई वटा समूहका साझा उम्मेदवार बनेका छन्।
उक्त पदका लगि अञ्जन श्रेष्ठको समूहबाट प्रवलजंग पाण्डेले उम्मेदवारी घोषणा गरेका थिए। तर, पाण्डेले आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने व्यवस्था रहेको छ। आसन्न साधारण सभाबाट चन्द्र प्रसाद ढकाल महासंघको अध्यक्ष हुँदैछन्। ढकाल हाल शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष हुन्।
महासंघको आसन्न नेतृत्वका लागि तीन वटा समूह चुनावी प्रतिस्पर्धामा छ। उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईको समूह वरिष्ठ उपाध्यक्षसहितको समूह बनाएर प्रतिस्पर्धामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।