काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट तर्फको उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठले रामचन्द्र संघाईको समूह चुनाव जित्न सहज भएकाले रोजेको बताएकी छन्।
उनले आइतबार रामचन्द्र संघाईको प्यानल घोषणा पछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन जित्नका लागि रामचन्द्र संघाईको समूहमा सहज भएका कारण संघाईको समूह रोजेको बताएकी हुन्।
श्रेष्ठले वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठले पत्रकारहरूको सुझाव दिने भनेर बोलाइ योजना नबनाई टिम घोषणा गरेको बताइन्। उनले निर्वाचनमा जहाँ आफूलाई सहज लाग्छ त्यहीँ आफू रहन सहज हुने बताइन्।
संघाईको समूहमा सहज लागेकाले श्रेष्ठको समूह छोडेको उनको भनाइ छ। उनले श्रेष्ठ समूहलाई भनेर नै आफूलाई सहज लाग्ने ठाउँमा आएको भन्दै श्रेष्ठको समूहलाई छोडेर आउँदा धोका दियो भन्न नमिल्ने बताइन्। उनले एउटै समूहका सबैजना एउटै पदमा उठ्न नमिल्ने र एशोसिएट उपाध्यक्षमा तीन नभइ दुई मात्रै उम्मेदवार निर्वाचनमा जाने वातावरण बनाउन आएको बताइन्।
उनले सकारात्मक सोचका साथ श्रेष्ठको प्यानल छाडेर संघाईको प्यानलमा आएको बताइन्। उनले अहिले घोषणा भएका तीन वटै टिम बलियो रहेको भन्दै मतदाता व्यवसायीहरूको समस्यामा नेतृत्वदायी भूमिका खेल्नसक्ने टिमलाई मतदान गर्न आग्रह गरिन्।
गत फागुन ३० गते पत्रकार सम्मेलन गर्दै ज्योत्सना श्रेष्ठले आफू अञ्जन श्रेष्ठको समूहबाट एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। तर, निर्वाचन नजिक आएसँगै अञ्जनको टिम छोडेर संघाईको समूहमा प्रवेश गरेकी छन्।
महासंघको वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघाईले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। संघाईको प्यानलमा जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण वैध,वस्तुगततर्फ सकुन्तलाल हिराचन र एशोसिएटतर्फ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।