पुनको मर्ममा महराको प्रहार

नेपाल लाइभ | २०७४ भदौ १८ आइतबार | Sunday, September 03, 2017 ०५:५९:०० मा प्रकाशित

काठमाडौं– आफूलाई सभामुखमा थन्क्याएर पार्टी महासचिव हुने वर्षमान पुनको योजना तुहाउन कृष्णबहादुर महरा सफल त भए तर पुनले सभामुखमा श्रीमती ओनसरी ‘घर्ती कार्ड’ खेलिदिएपछि उनको रनाहा छुट्यो। जब पुनको जीवन–संगीनी ओनसरीलाई सभामुख बनाउने तरखर भयो, महरा उनलाई छेकबार गर्न राम्रै गरी लागिपरे। महराले गिरिराजमणीलाई सभामुख बन्न आग्रह गरेका थिए। उनले अस्वीकार गरेपछि राम कार्कीका पक्षमा ‘लबिङ’ गरेका थिए। अन्त्यमा ओनसरीले नै बाजी मारिन्। 

ओली नेतृत्वको सरकारको पालामा रोल्पामा आफू अनुकूल प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लैजान पनि महरा र पुनबीच प्रतिस्पर्धा भयो। जुन अहिले पनि कायमै छ। ०७२ मा आफ्नै अग्रसरतामा गृहमन्त्री बनेका शक्तिबहादुर बस्नेतले त्यसबेला पुनलाई साथ दिएनन्। बस्नेतको असहयोगको परिणाम सिडिओ, डिएसपी दुवैमा महरा अनुकूल पात्र रोल्पा पुगे। तर, महरा भने पुनसँग ठूलो प्रतिस्पर्धा नभई एकअर्काको परिपूरकका रुपमा काम गरिरहेको बताउँछन्। यति चाहिँ स्वीकार्छन्, ‘एउटै पार्टीको राजनीतिमा हुनुका नाताले कहिले सहयोग, कहिले सामान्य प्रतिस्पर्धा, कहिले झिनामसिना अन्तरविरोध, छलफल हुनु स्वभाविकै हो।’ 

बाबुराम भट्टराई नेतृत्वको सरकारमा पुनलाई अर्थमन्त्री बन्नबाट रोक्न पनि महरा उसैगरी लागिपरेका थिए। माओवादी कोटामा अर्थमन्त्री परे पनि लामो समयसम्म मन्त्री छान्न नसक्नु यसैको परिणाम थियो। त्यसबेला अर्थशास्त्र सम्बन्धी कुनै ज्ञान नभएको, सैन्य क्षेत्रको व्यक्तिलाई अर्थमन्त्री बनाउन नहुने भन्दै महराले ‘लबिङ’ गरेको जानकारहरु बताउँछन्। पुन अर्थमन्त्री भएपछि ‘लडाकु’ मन्त्री भनेर प्रचार नै भयो।

त्यसपछि पुनकी श्रीमती ओनसरीलाई युवा तथा खेलकुद मन्त्री र उपसभामुख बनाउने बेलामा पनि महरा उनका पक्षमा खुलेर लागेनन्। कतिसम्म भने ओनसरी खेलकुद मन्त्री बन्नुअघि पुनले शान्ति तथा पुनर्निमार्ण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए। माओवादीभित्रको आन्तरिक रडाको मिलाउन पुन ती जिम्मेवारीबाट फिर्ता भएसँगै ओनसरी मन्त्री भएकी थिइन्। यही मौकामा श्रीमान् मन्त्रीबाट हटेकै दिन श्रीमतीलाई मन्त्री बनाउँदा गलत सन्देश जाने भन्दै महरा ओनसरीलाई छेक्न लागिपरेका थिए।

महराले परिस्थिति अनुसार पुनविरुद्ध आफ्नो पुस्ताका दावलीहरु टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, अग्नि सापकोटा, हितराज पाण्डेलगायतलाई प्रयोग गर्ने गरेका छन्। जो पुनको छिट्टो–छिट्टो छलाङमा आरिस त गर्छन् नै, समयअघि नै अघिल्लो पुस्ताका वरिष्ठ नेता हुँदाहुँदै उपल्लो पदमा पुग्ने महत्वकांक्षा राखेको भन्दै पुनसँग असन्तुष्ट पनि छन्

माओवादी केन्द्र–कांग्रेस नेतृत्वको सरकारका सूत्रधारमा माओवादीबाट महरा, पुन, चक्रपाणी खनाल तथा कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक थिए। जसमध्ये त्यतिबेला महरा र निधि उपप्रधानमन्त्री भए भने लेखक पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री। यता खनाल चाहिँ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार। सांसद नभएका कारण पुन मन्त्री हुन सकेनन्। तर, प्रचण्डदेखि देउवासम्मको सरकार चलाउने कामका उनी पछि छैनन्। स्रोत भन्छ, ‘सरकार निमार्णको सूत्राधार भएकाले पर्दा पछाडि बसेर लाभ लिइरहेका छन् पुनले।’

माओवादी केन्द्रका नेताहरुको भनाइमा महरा कम बोल्ने तर कुटिल चरित्रका पात्र हुन्। त्यसैले उनले कसलाई कतिखेर कुटिलताको झटारो हान्छन् बुझ्न गाह्रै पर्छ। ‘महराले पुनलाई कमजोर सावित गर्न जे–जति हतियार प्रयोग गर्न सकिन्छ, ती सबै उपयोग गरेका छन्,’ स्रोत भन्छ। 

शान्ति प्रकियामा आएको केही समयभित्रै माओवादीले विराटनगरको नोबेल मेडिकल कलेजका तत्कालीन अध्यक्ष डा ज्ञानेन्द्र गिरी सहितलाई काठमाडौं बोलाएर विमानस्थलबाटै अपहरण गरी चरम यातना दिएको थियो। गिरी सहितका पीडितहरुले अर्का साझेदार सुनिल शर्माका नाममा सम्पूर्ण स्वामित्व हस्तान्तरण गर्न राजी भएपछि मात्र उनीहरुलाई छाडिएको थियो। त्यो योजना पुनको नेतृत्वमा बनेको थियो। 

स्रोतका अनुसार आफ्नो नाममा स्वामित्व आएपछि शर्माले केही प्रतिशत सेयर पुनलाई हस्तान्तरण गरेका थिए। शर्माले पुनलाई सेयर हस्तान्तरण गरेको गोप्य योजनाको भेद महराले नै खोलिदिएर सार्वजनिक भएको जानकारहरु बताउँछन्। ०६६ मा मोहन वैद्य नेतृत्वको अनुशासन आयोगमा पुन विरुद्ध थुप्रै उजुरी परेका थिए। महरा र पम्फा भुसालको मिलेमतोमा आफू विरुद्ध उजुरी हालेको त्यसबेला पुनले निकटहरुसँग भन्ने गरेका थिए।

२०७३ माघमा न्याय परिषद्ले जिल्ला र उच्च अदालतमा चार दर्जन बढी न्यायाधीशहरु नियुक्त गरेको थियो। जसमा माओवादी केन्द्रबाट पुन हावी भएका थिए। उनी माओवादीको कानुन विभाग प्रमुख समेत हुन्। न्यायाधीश नियुक्तिमा पुन हावी भएपछि माओवादी कोटाबाट महान्यायाधिवक्ता नियुक्त रमन श्रेष्ठ सरकारी वकिलहरुलाई उचालेर सडकमै उत्रिएका थिए। 

झट्ट हेर्दा यो आन्दोलन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध थियो। तर, खासमा आन्दोलनको निशानामा थिए पुन। महरा र श्रेष्ठले आफुनिकट केही अधिवक्तालाई न्यायाधीश बनाउन चाहेका थिए। तर, पुनले ती नामलाई ढिम्कनै दिएनन्। त्यसपछि महराकै योजना र सल्लाहमा सरकारी वकिलको वैशाखी टेकेर महान्यायाधिवक्ता श्रेष्ठ सडकमा ओर्लिएका हुन्। न्यायाधीश नियुक्तिमा पुन हावी भएको तथ्य महराले प्रचण्ड समक्ष पनि राखेका थिए। तर, प्रचण्डले गम्भीर रुपमा नलिएपछि श्रेष्ठमार्फत महराले पुनको धज्जी उडाउन वकिलहरुलाई सडकमा उतारेका थिए।

पुनपत्नी ओनसरी घर्तीलाई विवादमा ल्याउने भूमिका समेत महराले खेलेको रामबहादुर थापा निकट स्थायी समितिका एक सदस्यको भनाइ छ। पछिल्लो पटक प्रधानन्यायाधीस शुशिला कार्कीलाई महाअभियोग लगाउने सवालमा खेलेको भूमिकाका कारण घर्ती विवादमा तानिएकी थिइन्। कार्कीलाई छिट्टो महाअभियोग लगाउन महराले समेत उकासेका थिए। फलस्वरुप घर्तीले प्रक्रिया मिचेर महाअभियोग दर्ता गरी प्रक्रिया अघि बढाउने कोसिस गरेकी थिइन्। 

(महरा र पुनसँगको कुराकानी सोमबारको संस्करणमा)

टक्करमा दुई रोल्पाली कामरेड १ : 'गुरु महरालाई रोक्न चेला पुनको हर्कत !'