बाँके– बाँकेका मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार कम हुन थालेको छ। बैंकहरूले व्यापारीमाथि लगाएको चर्को ब्याजका कारण बाँकेको मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार व्यवसाय उत्साहजनक नभएको हो।
कोरोनाले थलिएको नेपालगञ्जको व्यापार व्यवसाय फेरि बैंकहरूले व्यवसायीमाथि लगाएको चर्को ब्याज र खुला सीमानाका कारण न्यून हुँदै गएको हो।
भारतीय बजार रुपैडिहासँग जोडिएको नेपालगञ्जको व्यापारले प्रतिस्पर्धा गर्न त धौधौ छ नै त्यसमा पनि हरेक सामग्रीको नेपाली मूल्य भन्दा भारतीय बजारको मूल्य केही कम भएका कारण नेपालगञ्जको व्यापार कम हुँदै गएको व्यापारीहरू बताउँछन्।
आर्थिक संकट बढ्दै गएका बेला सरकारले चासो नदिएको व्यापारीहरूको आरोप छ। आर्थिक मन्दीमा पनि सरकारले आवश्यक चासो नदेखाउँदा व्यापार धराशायी भएको व्यापारी सुनिल गुप्ताले बताए। उनले अनलाइन व्यापार र सरकारको नीतिकै कारण व्यापार न्यून हुँदै गएको भन्दै विगतका वर्षमा व्यापारको तुलनामा यो वर्ष व्यापार नभएपछि समय काट्न पनि समस्या भएको बताए।

खुला सीमा र भारतीय बजारबाट क्यारिङ गरेर मालवस्तु नेपाल भित्र्याउने चलनले नेपालगञ्ज र कोहलपुरको व्यापारमा कमी आएको नेपालगञ्जकी महिला व्यवसायी माया खड्काले बताइन्। उनले अहिलेसम्म धेरै नै घाटा भइसकेको भन्दै सिमानामा कडाई गर्नुपर्ने माग गरिन्।
आर्थिक संकट बढ्दै जानु र व्यापारीहरूलाई एलसी सिस्टमबाट गएर सामान आयात गर्नुपर्ने झन्झटले गर्दा नेपालगञ्जको व्यापारको स्थिति निकै कमजोर हुँदै गएको उनीहरूको गुनासो छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्जको व्यापार व्यवसाय अत्यन्तै कम हुँदै गएको बताए। उनले नेपालगञ्जको व्यापार कम हुनुमा बैंकहरूले व्यवसायीहरूबाट चर्को ब्याज लिनु र विकास निमार्णका कार्यहरू ठप्प हुनु रहेको सुनाए।
व्यापारीहरूले लिएको कर्जामा बैंकहरूले एक्कासी दोब्बरको हिसाबले ब्याज नबढाएर सहुलियत दरमा ब्याज लागाइनुपर्ने र अनलाइन व्यापार खुला सिमानामा सरकारले कडाई गर्नुपर्ने व्यापारीहरूको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।