काठमाडौं– चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुन मसान्तसम्ममा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख ३० हजार रुपैयाँको आयात गर्दा जम्मा १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख ९३ हजार रुपैयाँको निर्यात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। जस अनुसार मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर पुगेको पाइएको छ।
विभागले सार्वजनिक गरेको ८ महिनाको विवरणअनुसार यो व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा १७.८६ प्रतिशत कम हो। गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो। समग्र आयात नै घट्दा व्यापार घाटामा राहत मिलेको छ। आयातमा कम भएसँगै निर्यात पनि घटेको विभागको तथ्यांकले देखाउँछ।
छिमेकी राष्ट्रहरूको माग कम भएसँगै निर्यात घटेको उद्योग वाणिज्य ताथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले बताए। ‘अहिले स्वदेशी उत्पादन राम्रो भए पनि छिमेकी मुलुकको माग कम भएकाले निर्यात कम भएको हो। यो वर्ष अघिल्लो वर्षभन्दा कम निर्यात हुने सम्भावना छ,’ उनले भने।
नेपालले विभिन्न वस्तु बाहिरी मुलुकबाट आयात गरेर र केही वस्तु उत्पादन गरेर निर्यात गर्ने गर्दछ। जसमध्ये चालु आर्थिक वर्षमा सर्वाधिक निर्यात हुनेमा प्रशोधित पाम तेल, चिया कफी, कपडा बुन्ने धागो, गलैँचा र फलाम रहेका छन्। यी वस्तुमध्ये प्रशोधित तेल, कपडा बुन्ने धागो, गलैँचाको निर्यात घटेको पाइएको छ भने फलाम र चिया कफीको निर्यात भने बढेको पाइएको छ।
चालु आर्थिक वर्षको ८ महिनामा नेपालले २३ अर्ब ८१ करोड ४६ लाख ६७ हजार रुपैयाँको प्रशोधित तेल निर्यात गरेको छ। सोही अवधिमा ९ अर्ब ७५ करोड ९८ लाख रुपैयाँको चिया र कफी निर्यात गरेको छ। यस्तै, ७ अर्ब ८३ करोड ५४ लाख ९७ हजार रुपैयाँको कपडा बुन्ने धागो निर्यात गरेको छ। ७ अर्ब ८५ करोड ५६ लाख ६६ हजार रुपैयाँको गलैँचा निर्यात गरेको छ। फलाम ६ अर्ब ६७ करोड ३० लाख ८७ हजार रुपैयाँको निर्यात गरेको छ।
अघिल्लो आर्थिक वर्ष (०७८–७९)को फागुन महिनामा ८० अर्ब ३८ करोड ३९ लाख ३३ हजार रुपैयाँको तेल निर्यात गरेको थियो। सोही अवधिमा ६ अर्ब ६ करोड ९३ लाख ९४ हजार रुपैयाँको चिया तथा कफी निर्यात गरेको विभागको तथ्यांकमा छ। यस्तै, ८ अर्ब ३६ करोड ४२ लाख ९८ हजार रुपैयाँको कपडा बुन्ने धागो र ६ अर्ब २२ करोड ३० लाख ३६ हजार रुपैयाँको गलैँचा निर्यात गरेको थियो। यस्तै, १ अर्ब ४६ करोड २१ लाख ७८ हजार रुपैयाँको फलाम निर्यात भएको विभागको तथ्यांकमा छ।
आर्थिक वर्ष ०७७–७८ को फागुन महिनासम्ममा २४ अर्ब १२ करोड ६४ लाख ६ हजार रुपैयाँको तेल निर्यात भएको थियो। सोही अवधिमा ८ अर्ब ५८ करोड ८७ लाख ६ हजार रुपैयाँको चिया कफी निर्यात गरेको थियो भने ५ अर्ब १० करोड २६ लाख ८३ अजार रुपैयाँको धागो निर्यात गरेको थियो। ५ अर्ब १ करोड २६ लाख ८३ हजार रुपैयाँको गलैँचा निर्यात गरेको थियो। १ अर्ब ६६ करोड १८ लाख ६९ हजार रुपैयाँको फलाम निर्यात भएको विभागको तथ्यांक छ।
यस्तै, आर्थिक वर्ष २०७६–७७ को ८ महिनामा २२ अर्ब ९४ करोड ८२ लाख ४ हजार रुपैयाँको तेल निर्यात भएको थियो। सोही अवधिमा ५ अर्ब ५६ करोड १४ लाख १९ हजार रुपैयाँको चिया कफी निर्यात भएको थियो। ५ अर्ब ९६ करोड ५७ लाख ५९ हजार रुपैयाँको कपडा बुन्ने धागो निर्यात भएको थियो। यस्तै, ५ अर्ब १३ करोड ६५ लाख १० हजार रुपैयाँको गलैँचा निर्यात भएको थियो भने २ अर्ब ३२ करोड १८ लाख ५४ हजार रुपैयाँको फलाम निर्यात गरेको थियो।
आर्थिक वर्ष २०७५–७६ को ८ महिनामा ५ अर्ब ८० करोड ४५ लाख २५ हजार रुपैयाँको तेल निर्यात भएको थियो। सोही अवधिमा ५ अर्ब १२ करोड १ लाख ३३ हजार रुपैयाँको चिया कफी, ६ अर्ब ३४ करोड २६ लाख रुपैयाँको कपडा बुन्ने धागो, ५ अर्ब ४ करोड ६८ लाख ९८ हजार रुपैयाँको गलैँचा र ४ अर्ब ९१ करोड ९२ लाख ३३ हजार रुपैयाँको फलाम निर्यात गरेको थियो।
जस अनुसार अघिल्ला वर्षको तुलनामा प्रशोधित पाम तेलको निर्यात घट्दै गएको पाइएको छ भने चिया कफीको चाहिँ निर्यात बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।