काठमाडौं– पूर्वमुख्यसचिव लिलामणि पौडेलले बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्ने बताएका छन्। शुक्रबार नेकपा (एकीकृत समाजवादी)को अर्थ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन्।
उनले निक्षेपको मूल्यवृद्धि ८ प्रतिशत रहेको भन्दै बैंकको ब्याजदर ८ प्रतिशत भन्दा माथि नभए निक्षेपकर्ताको पैसाको भ्यालु कम हुने बताए। उनले बैंक खाता खोल्ने २ करोड बढी भएपनि कर्जा लिने १८ लाख मात्रै भएको भन्दै २ करोडलाई दोहन गरेर सीमित मानिसहरूलाई पोस्ने हो भने मुलुकको अर्थतन्त्र नचल्ने बताए।
पौडेलले बैंकहरू मिलेर कर्जाको ब्याजदर फिक्स गर्नु कानुनी रुपमा अवैधानिक रहेको बताए। उनले बैंकहरूको ब्याजदरमा गरिने प्रतिस्पर्धा ऐनले निषेध गरेको बताए। उनले अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढेकाले र मुद्रास्फिती बढेका कारण ब्याजदर ८ वा ९ प्रतिशतभन्दा तल हुन नहुने उल्लेख गरे।
पौडेलले कोरोना महामारीको समयमा बैंकहरूले सस्तो ब्याजदरमा लिएको कर्जा घरजग्गामा लगानी गरेकाले सहुलियतका प्याकेजहरू ल्याएपनि काम नगर्ने बताए। उनले मुलुकको अर्थतन्त्र संकटमा नभएर संकटको डिलमा रहेको बताए।
त्यस्तै, अर्थविद् डा चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्र समस्या र चुनौतिको चाङमा रहेको टिप्पणी गरे। उनले पछिल्लो समय बाह्य क्षेत्रमा सुधार भएपनि लगानी, उत्पादन, आय र वृद्धिमा संकुचन आएको बताए। उनले नेपालको इतिहासमा पहिलो पटक राजश्व घाटाको स्थिति देखिएको बताए।
अर्थविद् अधिकारीले पैसा विधिसंगत तरिकाले सरकारको नियन्त्रणमा रहनुपर्ने भएपनि राज्य र राजनीति पैसाको नियन्त्रणमा पुगेको अनुभूति हुन थालेको सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।