काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुनसक्ने बताएका छन्।
बिहीबार नेपाल–इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले सरकारले बैंकको ब्याजदर तत्काल एकल अंकमा नल्याए मुलुकको अर्थतन्त्र थप धरासायी हुनसक्ने चेतावनी दिएका हुन्।
उनले बैंकको ब्याजदर कम नभए उद्योग व्यवसाय पनि फस्टाउन नसक्ने बताए। अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र थप अफ्ठ्यारोमा पर्न नदिनका लागि सरकारले फास्ट ट्रयाकमा ब्याजदर कम गर्नपर्ने बताए।
उनले आर्थिक ऐन नबन्दा र नीतिगत सुधार नहुँदा उधारो कारोबारले थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण बढ्दै गएको बताए।
उनले बजारमा तरलता अभावको कारण उद्योगी व्यवसायीको आर्थिक संकट निस्तेज पार्नका लागि डिजिटलाइजेसन र नगद कारोबारमा जानुपर्ने आवश्यकता रहेको बताए। उनले बैंकहरुले लिने कर्जाको प्रिमियम दरमा समेत व्यवसायीहरु माथि पक्षपात गरिरहेको आरोप लगाए।
अध्यक्ष मल्ले नेपालमा इटालीको आवासीय राजदूतावास बन्न नसक्दा दुई देशबीचको व्यापार विस्तार हुन नसकेको बताए। उनले सरकारले दुई देशबीच व्यापार बढाउनका लागि इटालीको आवासीय राजदूतावास नेपालमा खोल्न पहल गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।