काठमाडौं– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पूँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन्।
बिहीबार नेपाल–इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले देशमा सुशासन कायम गर्न नसके, पूँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न नसके र व्यापार घाटा कम गर्न नसके समृद्धिको जतिसुकै नारा लगाएपनि देशको अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गरे।
उनले अर्थतन्त्रको गतिलाई अघि बढाउन र समृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको सुनाए।
मन्त्री श्रेष्ठले नेपालको धेरै ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै व्यापार घाटा घटाउन उत्पादनको वृद्धि, आयात प्रतिस्थापनद्वारा आयात नियन्त्रण र निर्यात प्रवर्द्धन गर्न जरुरी रहेको बताए। मन्त्री श्रेष्ठले ऋणको ब्याजदर अहिले धेरै नै बढेको भएपनि व्यापारमा ठोस निर्णय गरेर कार्यान्वयन गर्ने बिन्दुमा सरकार नरहेको बताए।
मन्त्री श्रेष्ठले नेपाल र इटलीबीचको कूटनीतिक सम्बन्धलाई नागरिकस्तरमा विकास गर्दै दुई मुलुकबीच एक अर्काका उत्पादन आदानप्रदान गर्ने र नेपालमा इटालीका पर्यटक भित्र्याउने काम गर्नुपर्ने बताए।
उनले आत्मनिर्भर र स्वाबलम्वी अर्थतन्त्रको विकासमा जोड दिन आवश्यक रहेको बताए। मन्त्री श्रेष्ठले नेपालले इटलीमा वार्षिक १ अर्ब १४ करोडको सामान निर्यात गर्ने गरेको र इटलीसँग नेपालको व्यापार घाटा २ अर्ब ९६ करोड रुपैयाँ रहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।