काठमाडौं– अर्थविद् डा गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका छन्।
सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अर्थविद् डा पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता जाहेर गरे। उनले विकास खर्चलाई र देशमा तलब खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिए।
दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदै गएको उन बुझाई छ। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका अर्थविद् पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मुल कारण देशको राजनीतिक अस्थिरता रहेको टिप्पणी गरे।
नेताहरूमा गम्भीरता नै नरहेको र सरकार तथा मन्त्रीहरूमा जिम्मेवारी लिने र संरचना सुधारमा लाग्ने भोक नरहेको पोखरेलको दाबी छ।
‘हामी यस्तो ट्रेनमा गइसक्यौँ, विकास खर्चलाई त पूरै ऋण लिनुपर्ने अवस्था छ। हाम्रो चालु खर्च तलब, भत्ता, पेन्सनहरू दिनलाई पनि ऋण लिनुपर्ने अवस्थामा हामी पुगेका छौँ’, पोखरेलले भने, ‘हिजो साँझसम्मको देशको आर्थिक तथ्यांक हेर्दा मुलुक यो आर्थिक वर्षमा करिब २ सय अर्ब घाटामा गइसक्यो। अब कति ऋण लिएर चलाउने हो?’
अर्थविद् पोखरेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्वसँगै नियम, कानुन फेरबदलको खाँचो रहेको सुझाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।