काठमाडौं– राष्ट्रिय सहकारी महासंघले सहकारीका ऋणी सदस्यहरुलाई समयमै किस्ता तथा ब्याज भुक्तानी गरी अन्य सदस्यहरूको बचत रकम फिर्ता गर्न सहज वातावरण बनाइदिन अपिल गरेको छ। बुधबार महासंघले एक अपिल जारी गर्दै यस्तो आग्रह गरेको हो।
केही संस्थाबाट भएका गलत क्रियाकलापको हल्लाका कारण सबै सहकारी संस्थाहरू उस्तै हुन् भन्ने बुझाइले सदस्यहरूबाट एकैपटक बचत फिर्ता लिन खोज्दा संस्थाको तरलता व्यवस्थापनमा कठिनाइ भएको महासंघले जनाएको छ। यस्तो बेला संस्थामा गम्भीर असर पर्न जाने भन्दै सम्पूर्ण सदस्यहरूलाई संयमताका साथ नियमित कारोबार गर्न आग्रह गरिएको छ।
‘सहकारी संघ/संस्थाहरूले बचत रकमको सामान्यतया ८० प्रतिशतसम्म सदस्यहरूलाई नै विभिन्न प्रयोजनमा कर्जा प्रवाह गर्ने भएको हुँदा ऋणी सदस्यहरूलाई समयमा नै नियमित किस्ता तथा ब्याज भुक्तानी गरी अन्य सदस्यहरूको बचत रकम फिर्ता गर्न सहज वातावरण बनाइदिन हुन अनुरोध छ’, महासंघको अपिलमा भनिएको छ।
संस्था बचाउन र सदस्यहरूको बचत सुरक्षण गर्ने कार्य सदस्यहरूबाट नै हुने भएको भन्दै ऐन, नियमावली संस्थाको विनियम अनुसार समिति विघटन तथा चयन गर्ने अधिकार समेत सदस्यमा निहीत हुने भएकोले संस्थामा आफ्नो सदस्यताको जिम्मेवारी सक्रियताका साथ निर्वाह महासंघले अपिल गरेको छ।
संघ/संस्थाहरूले अन्य सहज परिस्थितिभन्दा बढी सदस्यसँग सम्पर्क समन्वय गरी विश्वासको वातावरण सिर्जना गर्दै संस्था नियमित रूपमा सञ्चालन गर्न महासंघले आह्वान गरेको छ। यस्तै, संस्थाका सदस्यहरूले निराधार हल्लाका पछि लागि सञ्चालक एवं कर्मचारीहरूमाथि दुर्व्यवहार, हुलदंगा नगरी सामान्य परिस्थितिमा झैं संस्था सहज रूपमा सञ्चालन हुने वातावरण बनाइ हालको प्रतिकूल अवस्थामा बचतकर्ताहरूले धैर्य गर्नुपर्ने महासंघले जनाएको छ।
संघ/संस्थाको सम्पत्ति दायित्व व्यवस्थापनका लागि नियमित वित्तीय विश्लेषण गर्दै अल्पकालीन योजना तर्जुमा गरी जोखिम न्यूनीकरण गर्न र जिल्ला, प्रदेश तथा केन्द्रीयस्तरका संघहरू तथा राष्ट्रिय सहकारी बैंकले समेत सदस्यहरूको समस्या समाधानका लागि संस्थाहरूसँग सहजीकरण गरी रचनात्मक तथा सन्देशमूलक जागरणको भूमिका निर्वाह गर्न महासंघले आह्वान गरेको हो।
विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपालको अर्थतन्त्रमा पर्न गएको असर र त्यसले सिर्जना गरेको प्रतिकूल परिस्थितिमा सहकारी अभियानप्रति विश्वासको संकट उत्पन्न भएको महासंघले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।