काठमाडौं- सरकारको स्वामित्वमा रहेको दुग्ध संस्थान डीडीसीले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँदेखि १६ रुपैयाँसम्म बढाएको छ। डीडीसीका उपप्रबन्धक राजेन्द्र अधिकारीले आज (बिहीबार) देखि बजारमा नयाँ मूल्य अंकित प्याकेट दूध बजारमा पठाइएको जानकारी दिए।
उपप्रबन्धक अधिकारीले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र आजैदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने बताए।
संस्थानको बुधबार बसेको सञ्चालक समिति बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार दूधको मूल्य १० रुपैयाँदेखि १६ रूपैयाँसम्म बढेको छ।
जस अनुसार सबैभन्दा धेरै बिक्री हुने निलो प्याकेटको स्ट्याण्डर्ड दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढेर ९७ रुपैयाँ कायम भएको छ।
यस अनुसार बजारमा पाइने आधा लिटरको एक पोका दूधको मूल्य काठमाडौं उपत्यकामा अब ४३ रुपैयाँबाट बढेर ४८ रुपैयाँ ५० पैसा कायम भएको छ।
प्रतिलिटर ८६ रुपैयाँ रहेकोमा आजदेखि बढेर ९७ रुपैयाँ पुगेको छ। त्यस्तै गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ। गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ। क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढेको छ भने हरियो प्याकेटको दूधको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ।
सूचना अधिकारीका अनुसार यो मूल्य काठमाडौं, विराटनगर, जनकपुर, हेटौंडा र वीरगन्ज क्षेत्रमा लागू हुनेछ। यस्तै लुम्बिनी प्रदेशमा प्रतिलिटर ९४ रुपैयाँ मात्रै तोकिएको छ भने नेपालगन्ज र धनगढीमा स्ट्याण्डर्ड दूधको मूल्य प्रतिलिटर ९२ रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।