काठमाडौं- सरकारको स्वामित्वमा चल्दै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य बढाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँले बढेको डीडीसीका उपप्रबन्धक राजेन्द्र अधिकारीले बताए।
‘बिहीबारदेखि मूल्य लागू हुने गरी सहमति भएको छ। दही, घ्यू लगायतका अन्य पदार्थको मूल्य पछि बढेर आउँछ,’ उनले भने।
पहिला डीडीसीको दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो। अब भोलिबाट बढाएर ९७ रुपैयाँ कायम गरिने भएको छ। यस्तै सरकारले यसअघि वृद्धि गरेको दूधको किसान मूल्य पनि आजैबाट (१ चैतदेखि) लागू गर्ने निर्णय गरिएको बताए।
गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो। ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पुर्याएको थियो।
त्यसको एक सातापछि २५ फागुनमा निजी क्षेत्रका डेरी उद्योगहरुले दूध तथा दुग्ध पदार्थको मूल्यवृद्धि गरेका थिए। निजी डेरीहरुले दूधको मूल्य लिटरमा १४ रुपैयाँले बढाएका थिए भने दुग्धजन्य पदार्थको मूल्य लिटरमा २ सय रुपैयाँसम्मले बढाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।