काठमाडौं– नेपाल र चीनका उद्योगी, व्यवसायीहरूको बैठक चार वर्षपछि बसेको छ। सोमबार काठमाडौंको एक होटलमा दुई देशका व्यवसायीहरूको संयुक्त बैठक बसेको हो।
बैठकमा नेपालमा नयाँ व्यापारको सम्भावना, लगानी भित्र्याउने, भइरहेका व्यपारसम्बन्धी समस्या समाधान गर्ने र सीमानाकाको समस्याका बारेमा छलफल हुनुका साथै रोकिएका प्रोजेक्टहरू सञ्चालन गर्ने बारेमा छलफल भएको नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष त्रिभुवन तुलाधरले बताए।
नेपाल–चाइना च्याम्बरका अध्यक्षसमेत रहेका उनले छलफलमा नेपालीहरूलाई भोकेसनल ट्रेनिङ दिने, व्यापारीहरूलाई चिनियाँ भाषा सिकाउन शिक्षकहरू नेपाल पठाउने, रोकिरहेको व्यापार सञ्चालन गर्ने, उद्योगहरू खोल्ने, नयाँ सम्भावनाहरूको खोजी गर्ने कुरामा पनि छलफल बताए।
‘यो व्यापारीहरूको बैठक हो, नेपाल र चीनका। यो ४ वर्षपछि बसेको हो। यसले धेरै फरक पार्छ। नेपालमा नयाँ केके व्यापार गर्न सकिन्छ। नेपालमा लगानी भित्र्याउने, भएको समस्या समाधान गर्ने, बोर्डरको समस्या समाधान गर्ने, पहिलादेखि रोकिएका प्रोजेक्टहरू अघि बढाउने विषयमा छलफल भएको छ’, उनले भने।
अध्यक्ष तुलाधरले चिनियाँ बैंक नेपालमा आउने सम्भावना उच्च रहेको बैठकबाट जानकारी पाएको बताए। उनले बैठकमा दुई देश र दुई देशका व्यापारीहरूको सम्बन्धलाई थप प्रगाढ र सुदृढ गर्ने बारेमा पनि छलफल भएको बताए।
बैठकका लागि सीसीपीआईटी बेइजिङ र सीसीआईओसीका १२ सदस्य टोली नेपाल आएको हो। चीनले नेपाल लगायतका अन्य मुलुकहरूसँग व्यापारिक स्थल खुला गरेको र चीन सरकारले नेपाललाई पर्यटकीय गन्तव्यको सूचीमा राखेसँगै नेपाली उद्योगी, व्यवसायीहरू खुशी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।