काठमाडौं– नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले आत्मनिर्भर अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखिएको बताएका छन्।
बुधबार राजधानीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको सिईओ वर्कशपमा बोल्दै श्रेष्ठले भने, ‘मुलुकको अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा सहकारीलाई स्वीकार गरिए पनि त्यो व्यवहारमा देखिएन।’
अर्थतन्त्रमा सहकारीको ठ्याक्कै योगदान कति हो ? कहाँ कति सहयोग पुगेको छ? भन्दै प्रतिप्रश्न गरे। उत्पादनमा आत्मनिर्भर हुन सहकारीले सघाउनुपर्ने हो तर परिणाममा नदेखिएको बताए। सहकारी संघ संस्थाहरुले समेत बैंकले जस्तै घरजग्गामा, धितोपत्र बजारमा लगानी गर्दा समस्या आएको उनको भनाइ थियो।
‘सहकारीको लगानीको प्राथमकिता प्राप्त क्षेत्र कुन हो? सहकारीको मूल्य मान्यता बचतकर्तालाई झन् गरिब बनाउने भन्ने त होइन होला। कहाँ लगानी गर्दा सुरक्षित र अझ बढी उत्पादन मुखि हुन्छ संस्थाले त्यतातिर सोच्ने हो’, उनले भने।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको मात्र होइन सहकारीको पैसा समेत सेयर बजारमा गएको हुनसक्ने आशंका कार्यकारी निर्देशक श्रेष्ठले व्यक्त गरे।
सोही अवसरमा श्रेष्ठले कोभिडपछिको विश्व परिदृश्य रुस र युक्रेनबीचको युद्धले निम्त्याएको आर्थिक संकटले समेत नेपाली अर्थतन्त्र समस्यामा परेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।