काठमाडौं– राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा स्वर्णिम वाग्लेको अर्थतन्त्र सुधारका लागि सरकार निर्मम ढंगले अघि बढ्नुपर्ने बताएका छन्। मंगलबार नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा बोल्दै वाग्लेले अर्थतन्त्रको संरचनागत सुधार सजिलो नभएको भन्दै आगामी अर्थमन्त्रीले अप्रिय निर्णय गर्नुपर्ने अवस्था रहेको बताए।
उनले अर्थतन्त्रमा देखिएको समस्याको समाधान अब टालटुले नभएर निर्मम भएर जानुपर्ने अवस्था आएको सुनाए। वाग्लेले सरकारले अर्थतन्त्रको संरचनागत सुधारमा ढिलाइ गर्दा समस्या थप बढ्दै जाने भएको भन्दै आगामी सरकारले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीतिसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले अहिले सामाजिक सुरक्षामा सरकारको दायित्व बढ्दै गएको तथा सार्वजनिक खर्च बढेको तर सरकारी राजश्वमा न्यून देखिँदा खर्च कटौतिमा सरकार निर्मम हुनुपर्ने बताए।
उनले सामाजिक सुरक्षामा ठूलो समस्या रहेको पनि बताए। सार्वजनिक खर्चमा निर्मम कटौती आवश्यक रहेको उल्लेख गर्दै वाग्लले सार्वजनिक खर्च पुनरवलोकन आयोगको सुझाव कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए। उनले खर्च र आम्दानीको खाडल पुर्न सरकारले अप्रिय निर्णय गर्नुपर्ने बताएका हुन्।
वाग्लेले सुशासनका मुद्दामा सरकार गम्भीर नहुँदा अर्थतन्त्रको आन्तरिक सुधार हुन नसकेको दाबी गरे। उनले विदेशी मुद्रा सञ्चिति बढाउन विप्रेषण बाहेकका वैकल्पिक स्रोत खोज्नुपर्ने पनि बताए। अर्थविद् वाग्लेले सार्वजनिक ऋणको साँवा ब्याज तिर्न ठूलो रकम खर्च भइरहेको तथा सरकार र निजी क्षेत्रबाट समेत परिचालन भएको ऋणको तुलनामा आर्थिक वृद्धिदर निकै न्यून देखिनु चिन्ताजनक रहेको बताए।
उनले सार्वजनिक खर्च पुनरवलोकन आयोगले दिएको सुझाव १६ वटा आयोग मात्रै राख्न भनेपनि कार्यकर्ता पाल्नका लागि सरकारले छुन समेत नसकेको टिप्पणी गरे। निर्यातको लागि राज्य र उद्योगी व्यवसायीहरू नै लाग्दा पनि १ मिलियन डलर बराबरको निर्यात गर्न अझै नसकेको उनको भनाइ छ। उनले १ मिलियन डलर भन्दा बढी ३० हजार युवाले डिजिटल प्रविधिमार्फत विदेशी डलर ल्याएको सुनाए।
उनले बैंकहरूले एकैपटक उच्च ब्याजदर बढाउन नहुने सुझाव दिए। उनले अनुत्पादन क्षेत्रमा धेरै कर्जा प्रवाह भएकाले बैंकहरूलाई नै समस्या पर्ने देखिएको बताए। उनले नेपालको माथि उठेको बैंकिङ उद्योग पनि धरासायी भयो भने अर्थतन्त्र झनै समस्या पर्ने चिन्ता व्यक्त गरे। वाग्लेले बैंकको ब्याजदर घटाउनको लागि एउटा छुट्टै टिम बनाएर सबैसँग छलफल गर्नुपर्ने सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।