काठमाडौं– अर्थविद् तथा काठमाडौं विश्व विद्यालयका प्रोफेसर प्राडा. अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्यांकमा आधारित नभएको बताएका छन्। मंगलबार काठमाडौं विश्व विद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।
नेपालमा उत्पादन भएका वस्तुहरुको विदेश निर्यात गर्न वाणिज्य नीति तथ्य तथ्यांकमा आधारित भएर बनाउन आवश्यक रहेको उनको भनाइ छ। उनले तथ्यमा आधारित भएको नीति नबनाएसम्म नेपालबाट विदेशमा कति वस्तु निर्यातको सम्भावना छ र अहिलेसम्म कति निर्यात भए भन्ने जानकारी नहुने प्रष्ट पारे।
‘नेपालमा जति पनि वाणिज्य दिगोपनको लागि नीतिहरु बनिरहेका छन्, त्यस्ता नीतिहरु तथ्य तथ्याङ्कमा आधारित छैन। त्यस्ता नीतिलाई परिवर्तन नगरी नेपालमा उत्पादन भएर निर्यात हुनसक्ने वस्तुको सम्भाव्यता के हुन्? कुन आकारमा निर्यात हुन्छ?’ उनले भने।
अर्थविद वाग्लेले नेपालको व्यापार घाटा कूल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्न लागेको भन्दै आर्थिक दिगोपनका दृष्टिले जोखिमपूर्ण रहेको बताए। उनले भने, ‘सबै अनियमितता, न्यून विजकीकरण हेर्दा कूल ग्रार्हस्थ्य उत्पादनको प्रतिशतजतिकै व्यापार घाटा हुने देखिन्छ। कुनै पनि रुपमा दिगो छैन।’
सम्मेलन मंगलबार र बुधबार गरी दुई दिनसम्म चल्नेछ। सम्मेलनमा भारत र पोल्याण्डका प्रोफेसरहरुको सहभागिता रहेको छ भने भारतबाट पूर्व वाणिज्य सचिव अनुप वाधवानकोसमेत सहभागिता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।