काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन्।
शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्तको संस्थाका कर्मचारीमाथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने टिप्पणी गरे।
उनले व्यवसायीहरुले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा दबाब समूह बनाई कालोमोसो चल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न आग्रह गरे। उनले बैंक वित्तीय संस्थाहरुले लगाएको कर्जा बैंक तथा वित्तीय संस्थाहरुको रकम नभएर जनताको पैसा भएको नबिर्सिन आग्रह गरे।
डेपुटी गभर्नर मिश्रले बैंक वित्तीय संस्थाबाट कर्जा लिनेहरुले कर्जा दिन्नँ भन्दा बैंकका निक्षेपकर्ताहरुले पैसा पाउन समस्या हुने बताए। उनले बैंक वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिनँ भन्नेहरुलाई कसैले कुनैपनि क्षेत्रबाट प्रोत्साहन दिन नहुने उल्लखे गरे।
बैंक तथा वित्तीय क्षेत्रबाट खराब काम भएको थाहा पाउने बित्तिकै राष्ट्र बैंकमा गुनासो गरे तत्काल कारबाही गर्ने उनको भनाइ छ। राष्ट्रिय, अन्तर्राष्ट्रिय र सप्लाई चेनमा परिर्वतन भएको कारण र पेट्रोलिय पदार्थको मूल्यमा भएको वृद्धि, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय डलरमा भएको वृद्धि र विश्वका सेन्ट्रल बैंकहरुले ब्याज बढाएका कारण धेरै देशको आर्थिक अवस्थामा केही सकस पर्न गएको मिश्रले बताए।
उनले राष्ट्र बैंकले व्यवसायीहरुको हितका लागि केही सर्कुलर जारी गरेको भन्दै राष्ट्र बैंकले नीतिगत रुपमा गर्नसक्ने विषयमा केके गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको जनाए।
उनले नेपाल राष्ट्र बैंकले मार्च महिनालाई डिजिटल पेमेन्ट महिनाको रुपमा घोषणा गरेको बताए। सन् २०२३ को वर्षभरलाई डिजिटल पेमेन्टको वर्षको रुपमा लिएको उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।