काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले श्रम सम्बन्ध सुधारका लागि सामाजिक संवाद निकै महत्त्वपूर्ण हुने बताएका छन्।
आइतबार काठमाडौंमा महासंघ रोजगारदाता परिषद्को बैठक तथा अन्तरक्रिया कार्यक्रममा संघईले श्रम सम्बन्धी कुनै पनि विवादको शान्तिपूर्ण र वार्ताको माध्यमबाट समाधान खोज्नु पर्नेमा जोड दिँदै समस्या समाधानको भरपर्दो तथा उपयुक्त विधि यही नै भएको उल्लेख गरेका हुन्।
महासंघ रोजगार परिषद्को सभापति समेत रहेका संघईले कार्यक्रममा ट्रेड युनियन र सरकारसँग निरन्तर सम्पर्कमा रही बन्द हडतालमा जाने स्थितिको अन्त्य गरिएको समेत उल्लेख गरे।
तुलनान्मक रुपमा श्रम विवादको संख्यामा कमी आए पनि श्रम सम्बन्ध भरपर्दा हुन भने नसकेको संघईले स्वीकार गरे। प्रतिष्ठान स्तरमा स–साना कुरालाई लिएर विवाद सिर्जना गर्ने, अचानक गैरकानुनी रुपमा काम बन्द गर्ने, जबरजस्ती गर्ने प्रवृत्ति अझै पनि कायमै रहेको संघईको भनाइ थियो।
आन्तरिक एवं बाह्य दुवै कारणले श्रम सम्बन्धमा नयाँ चुनौती थपिएको उल्लेख गर्दै संघईले सामाजिक दायित्व वहन गर्दै व्यवसायलाई निरन्तरता दिनुपर्ने बाध्यतामा उद्योगी व्यवसायी रहेको बताए।
श्रम र उद्योग सम्बन्धी नीति निर्धारण गर्दा श्रम सम्बन्ध सुधार एवं श्रम विवाद न्यूनिकरणमा सधाउ पुग्नेतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्दै संघईले उद्योगी व्यवसायी तथा श्रमिक दुवैको हित र स्वाभिमान कायम हुनेगरी बन्ने यस्ता नीति नियमहरूले लगानीको वातावरण तयार गर्न र उत्पादन वृद्धिमा सघाउ पुर्याउने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।