काठमाडौं– चालू आर्थिक वर्ष २०७९/८०को साउन देखि माघ मसान्तासम्ममा अर्थ मन्त्रालयले विभिन्न बहुवर्षीय ठेक्काहरुलाई ६३ अर्ब रुपैयाँभन्दा बढीको थप स्रोत सहमति गरेको छ।
चालू वर्षको हालसम्म ६३ अर्ब १ करोड ६० लाख ६ हजार रुपैयाँ बहुवर्षीय ठेक्कालाई स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमति दिइएको मन्त्रालयले जनाएको छ।
जसमध्ये सबैभन्दा बढी साउन महिनामा १६ अर्ब ४० करोड ११ लाख ८६ हजार रुपैयाँ स्रोत सहमति दिइएको थियो। सबैभन्दा कम भदौ महिनामा ९५ करोड ४८ लाख ५० हजार रुपैयाँ स्रोत सहमति दिइएको मन्त्रालयले जनाएको छ।
यस्तै सबैभन्दा बढी स्रोत सहमति मल खरिदका लागि भएको मन्त्रालयले जनाएको छ। माघ महिनामा रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई १५ अर्ब २३ करोड रुपैयाँको स्रोत सुनिश्चितता गरेको छ।
पुस महिनामा मात्रै सशस्त्र प्रहरीलाई पोशाक खरिद, १०१ स्थानमा बीओपी स्थापना गर्न स्रोत सहमति दिइएको छ। त्रिशूली बजारमा ढल निर्माण तथा प्रशोधन, सर्लाहीमा घाँसेबाली भवन निर्माण, गुल्मीको रुरु क्षेत्र बलेटक्सारबाट धोबीघाट हुँदै रिमुवा छापाटोल चक्रपथको स्तरोन्नति गर्नसमेत स्रोत सुनिश्चितता दिइएको छ।
यस महिनामा मात्र २ अर्ब ६० करोड रुपैयाँको स्रोत तथा बजेट सहमति दिइएको छ। मंसिर महिनामा सडक आयोजनाहरुमा बढी रकमको स्रोत सुनिश्चितता दिइएको छ। यस महिनामा ४ अर्ब ५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ।
कात्तिकमा अन्तशुल्क छपाइसहित विभिन्न सडक आयोजनामा स्रोत सहमति दिइएको छ। यस महिनामा मात्र १३ अर्ब ३० करोडको स्रोत सहमति दिइएको मन्त्रालयले जनाएको छ।
असोजमा गोठाटारमा वृद्धाश्रम निर्माणमा ४५ करोडसहित कूल १० अर्ब ४६ करोड रुपैयाँको स्रोत सहमति दिइएको छ। भदौमा ९५ करोड ४८ लाख र साउनमा १६ अर्ब ४० करोड रुपैयाँ स्रोत सहमति दिएको अर्थले जनाएको छ। यस महिनामा सबैभन्दा धेरै रासायनिक मल खरिद गर्न सहमति दिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।