काठमाडौं– नेपाल सरकारले चालू आर्थिक वर्षको पहिलो ७ महिनामा २२ अर्ब ७४ करोड ९० लाख बजेट रकमान्तर गरेको छ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको साउनदेखि माघसम्मको आर्थिक सहायता, निकासा तथा रकमान्तर सम्बन्धी विवरणमा उक्त कुरा उल्लेख छ।
पुँजीगततर्फ एक करोडभन्दा बढीको बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा रकमान्तर गरेको विवरण अनुसार सबैभन्दा बढी पुष महिनामा रकमान्तर गरेको भएको छ।
जसअन्तर्गत, पुषमा मात्र २२ अर्ब २५ करोड रकमान्तर भएको छ। जसमध्ये, १२ अर्ब ट्रेजरी बिलको साँवा भुक्तानी गर्न अपुग रकम व्यवस्थापन गर्ने प्रयोजनको लागि रकमान्तर भएको अर्थमन्त्रालयले जनाएको छ।
त्यस्तै, १० अर्ब भने विकास ऋणको साँवा भुक्तानीतर्फबाट ट्रेजरी बिलको साँवा भुक्तानीका लागि रकमान्तर गरेको अर्थमन्त्रालयले जनाएको छ। बाँकी २५ करोड भने झापा भूमिगत जलसिंचाई आयोजनाको लागि रकमान्तर गरिएको छ।
यस्तै, माघ महिनामा रकमान्तर भएको ३२ करोड ४० लाख मध्ये १२ करोड ४० लाख भने बन्चरे डाँडामा निर्माणधीन फोहोरमैला व्यवस्थापनका लागि रकमान्तर गरिएको विवरणमा उल्लेख छ।
त्यसअघि, भाद्र महिनामा ३० करोड र कात्तिक महिनामा १० करोड बजेट रकमान्तर भएको अर्थमन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।