नेपालगञ्ज– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारोन्मुख रहेको बताउँदै व्यवसायीहरुलाई धेरै निराश नहुन आग्रह गरेका छन्।
नेपालगञ्ज उद्योग वाणिज्य संघको २१औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका धेरै सूचकहरु सुधारोन्मुख रहेको र अहिलेको भन्दा परिस्थिति नबिग्रने बताउँदै व्यवसायीहरु निराश हुनुनपर्ने बताए।
‘अर्थतन्त्रका धेरै सूचकहरु विस्तारै विस्तारै सकारात्मक हुँदै आएका छन्। हामी व्यवसायीहरु जस्तोसुकै असजिलो आउँदा पनि हडबडाउनु हुँदैन। नैराश्यताले हामी आफैंलाई हानी गर्छ,’ ढकालले भने।
श्रीलंकाको अर्थतन्त्रमा समस्या देखिएको हुनाले नेपालको नियामक निकाय तथा सरकारको तर्फबाट केही कसिलो नीतिहरू अपनाउँदा नेपालको अर्थतन्त्रमा समस्या देखिएको र व्यवसायीहरू मर्कामा परेको बताउँदै त्यो कुरालाई मध्यनजर गर्दै सरकार तथा नियामक निकायले तुरुन्तै कोर्स करेक्सन गरेकोले अर्थतन्त्रमा बिस्तारै सहज स्थितिमा आउन लागेको ढकालको भनाइ छ।
आफू उपस्थित हुने हरेक कार्यक्रममा बैंकको ब्याजसम्बन्धी कुराहरु उठ्ने गरेको बताउँदै उनले कुनै एक वैंक वा वित्तीय संस्थाको सञ्चालकले मात्र ब्याजदर परिवर्तन गर्न असम्भव रहेको बताए।
‘म जुन कार्यक्रमहरुमा सहभागी हुन्छु, त्यहाँ बैंकको ब्याजदरसम्बन्धी विषयहरु उठ्ने गरेको छ। धेरै साथीहरुले बैंकको सञ्चालक भएकै कारण मैले चाहेको खण्डमा ब्याजदर घटाउन सक्ने र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव समाधान हुने खालको अभिव्यक्तिहरु दिने गर्नुभएको छ। म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैंकको सञ्चालक वा लगानीकर्ताले निर्धारण गर्ने वा चाहनाले परिवर्तन गर्ने कुरा होइन,’ ढकालले भने।
जिल्ला तथा नगरका व्यवसायीहरुले ब्याजदरबारे आन्दोलनका कार्यक्रमहरु गरिरहेको र महासंघको केन्द्रीय नेतृत्वले कुनै प्रयास नगरेको भन्ने प्रश्नमा आफ्नो धारणा राख्दै ढकालले महासंघीको नेतृत्वले गरेको निरन्तर पहलकै कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले व्यवसायीहरुका धेरै गुनासाहरु सम्बोधन गरेको स्पष्ट पारे।
‘हामीले हाम्रो तर्फबाट गरेको निरन्तर पैरवी र पहलले नेपाल राष्ट्र बैंक र नेपाल सरकारले केही कुराहरुमा लचिलो नीति अवलम्बन गरेको छ। जसले गर्दा अहिले हामीलाई हाम्रो व्यवसाय गर्न केही सहज भएको छ। हामी केन्द्रीय नेतृत्व निदाएर बसेका छैनौँ। तपाईं–हामी व्यवसायीहरूको समस्या केन्द्रसम्म पुर्याउने काम नै गरेका छौं,’ उनले स्पष्ट पारे।
अबको केही समयपछि महासंघको नेतृत्व सम्हाल्न गइरहेका ढकालले महासंघले निजी क्षेत्रको शीर उचो बनाउने गरी काम गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।