काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न नहुने बताएका छन्।
शुक्रबार पर्वत उद्योग वाणिज्य संघको ४७औँ स्थापना दिवस तथा ४०औँ वार्षिक साधारण सभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायीहरुले भोटका लागि गैरजिम्मेवार रुपमा चर्को र जथाभावी बोल्न नहुने बताएका हुन्।
उनले व्यवसायीले चुनावी फण्डा बनाउने विषयले समाज र अर्थतन्त्रमा पार्ने जोखिमका बारेमा पनि विचार गर्न आग्रह गरे।
'तपाई हामीले चुनावमा भोटका लागि यस्ता मीठा मीठा कुरा त गरौँला। तर, भोलि यसलाई कसरी निकर्षमा पुर्याउने भन्ने बारेमा पनि हामीले सोच्नुपर्ने हुन्छ,' उनले भने।
कोभिड र रशिया–युक्रेन युद्धलगायत समस्याले गर्दा नेपालको अर्थतन्त्रमा मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै उनले अब विस्तारै धेरै कुरा सकारात्मक हुँदै गएको उल्लेख गरे।
आफू एउटा बैंकको सञ्चालक भएको नाताले धेरै ठाउँमा पटक पटक बैंकको ब्याजजदरको विषय उठाउने गरेको बताउँदै उनले धेरै व्यवसायीलाई कुनै एउटा बैंकको सञ्चालकको चाहनाले मात्र बैंकको व्याजदर परिवर्तन हुने भ्रम रहेको टिप्पणी गरे।
वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला नगरका व्यवसायीहरुको हक, हित र संरक्षणकालागि आफूहरु लागिरहेको र निरन्तर लागि रहने प्रतिवद्धता समेत जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।