काठमाडौं– सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार तीन सय ५१ तोक्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०७९/०८० का लागि उक्त मूल्य निर्धारण गर्ने निर्णय गरेको हो।
बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
सरकारले संघीय संसद् सचिवालयमा दर्ता भई हाल राष्ट्रिय सभामा विचाराधीन रहेको प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ लाई फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ।
बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ। सरकारले आगामी चैत १३ देखि १६ सम्म थाइल्यान्डको बैंककमा आयोजना हुने दिगो विकाससम्बन्धी १०औँ एशिया प्यासिफिक फोरम कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिएको छ।
मन्त्रिपरिषद्ले आयोगका सदस्य रामकुमार फुयाँललाई आगामी चैत १३ देखि १४ गतेसम्म स्वीट्जरल्यान्डमा आयोजना हुने ‘स्याहारसुसार रोजगारी (आर्थिक) क्षेत्रमा समावेशी वृद्धि नीति र लगानीमार्फत महिलाका लागि मर्यादित रोजगारी प्रवर्द्धन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन स्वीकृति दिएको छ।
यस्तै, बैठकले विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ।
मध्यस्थता विवाद चलिरहेको मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौता अन्त्यसम्बन्धी निर्णयउपर दर्ता भएको मध्यस्थता विवादको निर्णय नभएसम्म थाइल्यान्डस्थित नेपाली दूतावासले खानेपानी मन्त्रालयसँग निकट सम्पर्क र समन्वयमा रही कानुनी प्रतिरक्षासम्बन्धी आवश्यक कामकाज गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।