काठमाडौं– काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सार्वजनिक स्थानमा सिसीटीभी जडान गर्ने तयारी गरेको छ। बिहीबार बसेको १३औं कार्यपालिका बैठकबाट महानगरभित्रका मुख्य–मुख्य सार्वजनिक स्थानमा सीसीटीभी जडान गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको हो।
महानगरका सूचना प्रविधि समितिका संयोजक तथा प्रवक्ता नवीन मानन्धरले काठमाडौंको मूल सडकमा नेपाल प्रहरीमार्फत् सीसीटीभी जडान गरिने बताए।
साथै चोक तथा गल्लीहरुमा नेपाल प्रहरीको प्राविधिक सहयोगमा वडा कार्यालयमार्फत् सीसीटीभी जडान हुनेछ। महानगरले सार्वजनिक स्थानमा आवश्यकता अध्ययनको आधारमा सीसीटीभी जडान गर्ने बताएको छ।
महानगरपालिका र नेपाल प्रहरीबीच १५ फागुन २०७५ मा सम्झौता भएअनुसार १६५ थान सीसीटीभी जडान भएको थियो। जसमध्ये १५८ वटा सञ्चालनमा रहेको मानन्धरले बताए।
चालु आर्थिक वर्ष २०७९/८० मा काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये २५ वडाले ५४ थान सीसीटीभी जडानका लागि १० करोड ५९ लाख रुपैयाँ विनियोजन गरिसकेको बताएको छ। साथै महानगर आफैंले सहरी सञ्चार सुरक्षाका लागि भन्दै ६ करोड विनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।