काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरुबाट कर्जा लिँदा ब्याजदरबारे पूर्ण जानकारी लिनुपर्नेमा जोड दिएको छ। त्यसरी कर्जा लिँदा स्थिर ब्याजदर भएको कर्जा प्रयोग गर्न पनि आग्रह गरेको छ।
राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले मंगलबार एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो।
‘बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिनुपर्दछ। ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्दछ। निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरू स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ,’ सूचनामा भनिएको छ, ‘स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याज रकम बढ्दैन, निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ र यसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर पर्न दिँदैन। ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र कर्जा उपयोग गर्नुपर्दछ।’
पछिल्ला दिनहरुमा वित्तीय संस्थाहरुबाट चर्को ब्याजदरको मारले ऋणीहरु संकटमा परेको समाचार सार्वजनिक भएसँगै राष्ट्र बैंकले यस्तो सूचना जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।