काठमाडौं- नेपाल सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन माग गरेका छन्। सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी बजारलाई नियन्त्रित तरिकाले कोटा सिस्टमबाट चलाइरहेकाले सरकारसँग सुन आयातको कोटा सिस्टम हटाउन माग गरे।
उनले सुन आयातको कोटा सिस्टमका कारण बजारमा सुनको माग बढी भए पनि मागअनुसार बिक्री वितरण गर्न नपाएको बताए। उनले राज्यको कर दायित्व भुक्तानी गरी र स्वदेशी रोजगार सिर्जना गर्दै पेसा व्यनवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न राज्यका तर्फबाट स्पष्ट मापदण्ड बनाई लागू गर्न र सुनचाँदी व्यवसायको विकास र प्रवर्द्धन हुनेगरी ऐन नियम कार्यविधि निर्माण गर्न सरकारसँग आग्रह गरे।
कोटा सिस्टम क्षणिक समयका लागि हुने भए पनि सरकारले अहिलेसम्म कोटा प्रणाली नै राखिराख्नुले सुन तस्करी गरी ल्याउने क्रम बढेको बताउँदै उनले अहिलेको सुन आयातको सिस्टम नहटे सुनचाँदी पसल चलाउन नसकिने उल्लेख गरे।
‘लगानी सुरक्षित हुने, कर्मचारीहरुको रोजगारी सुरक्षित हुने, उपभोक्ताहरुको घरघरमा सम्पत्तिको रुपमा रहेको सुन, चाँदीको गरगहनालाई सहज तरिकाले कारोबार गर्नसक्ने नीति नियम हाम्रो पहिलो आवश्यक्ता हो। सुनचाँदी बजारलाई नियन्त्रित तरिकाले कोटा सिस्टमबाट चलाइरहेको छ, कोटा सिस्टम निश्चित समयका लागि हो, सधैँका लागि होइन, अहिलेसम्म कोटा सिस्टम लागू भएको धएको छ। त्यो हट्नुपर्छ र बजारको माग अनुसार आयात गर्नुपर्छ,’ उनले भने।
महासंघले बजारमा सिजनको समयमा ४० किलोको हाराहारीमा माग आए पनि १० किलो मात्रै सुन आयात भइरहेको जनाएको छ। विधिवत रुपले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीहरुले बिना भन्सार ५० ग्राम र भन्सार तिरेर १०० ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधाअनुसार सुन बजारलाई केही धानेको भए पनि अहिले प्रहरीले त्यसरी सुन ल्याउने व्यवसायीहरुलाई पक्राउ गर्ने र अनावश्यक दुःख दिने गरेको आरोप महासंघको छ।
महासंघले विगत १३ वर्षदेखि लागू हुँदै आएको राष्ट्र बैंकको परिपत्र र एकाधिकार व्यवस्थाको समीक्षा हुन जरुरी रहेको बताएको छ। नेपाली मौलिक गरगहनाहरु विश्वव्यापी रुपमा माग भइरहेको सम्बन्धमा गरगहना निर्यातका लागि स्थानीय बजारको व्यवस्थापनका लागि र घरघरमा रहने आम उपभोक्ताहरुको सम्पत्तिको रुपमा रहनका लागि सुनचाँदी गरगहनाको यो पेसा व्यवसायलाई आवश्यक नीति, नियम र ऐन कानुन निर्माण गर्न आवश्यक रहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।