काठमाडौं- आममाफी पाएसँगै जेलमुक्त भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले जिल्ला अदालतले आफूलाई सुनुवाइको मौका नै नदिएको आरोप लगाएका छन्।
आइतबार कैदमुक्त भएका सांसद चौधरीले भने, ‘१८ दिनको कारागार बसाइले धेरै कुरा सिकाएको छ। हामीले कानुनमा धेरै कुरा परिमार्जन र संशोधन गर्नुपर्नेछ। जब २०७० सालमा कैलाली जिल्ला अदालतले फैसला गरिसकेको थियो भने त्यतिखेरै जानकारी पाउनुपर्थ्यो।
उनले आफूलाई राजनीति प्रतिशोधका कारण थुन्न लगाएको आरोप लगाए। ‘तीन पटक चुनाव लडिसकेको छु। त्यतिखेरको अवस्थामा पनि म सफाइको लागि दावी पेस गर्न सक्थें। उच्च अदालतमा पनि जान सक्थें। मैले त्यो मौका नै पाइनँ। जानकारी नै पाइनँ।’
सांसद चौधरीले आफूले मिडियामार्फत जानकारी पाएको प्रतिक्रिया दिएका छन्। उनले जिल्ला प्रहरी कार्यालयमा आफू फरार लिस्टमा छु कि छैन भन्ने कुरा सोध्दा प्रहरीले नै फरार सूचीमा नरहेको बताएको दावी गरे। उनले राजनीतिक प्रतिशोध र सानो पार्टीलाई अझै खुम्च्याउने हिसाबबाट आफूलाई थुन्न लगाएको आरोप लगाए। साथै उनले राष्ट्रपति र सरकारलाई जेलमुक्त गराएकोमा धन्यवाद ज्ञापन गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।