काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले देश अधोगतिमा गएको भन्दै अब मौन रहन नसक्ने बताएका छन्। प्रजातन्त्र दिवसका अवसरमा एक सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन्।
उनले जनताले चाहेको निर्णय स्वीकार गर्ने परम्परा र संस्कार आफ्नो वंशमा रहेको भन्दै देशको दीर्घकालीन शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेकाले अब मौन नरहने बताएका हुन्।
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘नेपालको अत्यधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौं। तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं।’
साथै उनले देश जोगाउनका लागि राजनीतिक दलहरु र देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्य गर्न विलम्ब गर्न नहुने बताएका छन्।
उनले भनेका छन्, ‘यी यावत् वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको छ। अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको विलम्ब गर्नुहुँदैन।’
नेपाल एकीकरणको २४० वर्षपछि शासकीय सत्ता जनताको नासो जनतालाई आफूले बुझाएको उल्लेख गर्दै शाहले अहिले कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।