काठमाडौं- सांसद चन्द्र भण्डारीको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन्। अस्पताल परिसरमा रहेका कांग्रेसका नेता योगराज कँडेलका अनुसार चिकित्सकले अवस्था खतरामुक्त रहेको बताएका हुन्।
डा सुनिल केस्वानीबाट काउन्सिलिङ सम्पन्न भएको र उपचाररत भण्डारीमा धेरै नै सुधार देखिएकाले सोमबार भेन्टिलेटरबाट हटाउने योजना रहेको कँडेलले फेसबुकमा अपडेट गराएका छन्।
‘मुख र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएकोले हाललाई तुरून्तै अर्को सर्जरी नगर्ने’, उनले लेखेका छन्।
बुधबार राति काठमाडौंको बुद्धनगरस्थित घरमा भण्डारी खाना पकाउने ग्यास विष्फोट हुँदा आगलागीमा परी घाइते भएका थिए।
घटनामा उनी र उनकी आमासमेत परेका थिए। दुवैलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो। आमाको भने बिहीबार बिहान नै निधन भएको थियो।
सांसद भण्डारीलाई भने बिहीबार दिउँसो मुम्बई लगिएको थियो। त्यहाँस्थित नेशनल वर्न्स सेन्टरमा उनको उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।