काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यका सबै निकायले नीति, नियम तथा कानुन बनाउँदा सम्बन्धित सरोकारवाला पक्षहरुसँग छलफल गरेर बनाएमा मात्र खोजेको उद्देश्य र नतिजा प्राप्त हुने बताएका छन्।
शुक्रबार धुलिखेल उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापना तथा शपथ ग्रहण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले नीति, नियम बनाउँदा सम्बन्धित पक्ष वा सरोकारवालासँग छलफल नगरी बनाउने गरेकोले त्यस्ता नीति, नियम कार्यान्वयनमा कठिनाइ हुने, खोजेको उद्देश्य पनि प्राप्त हुन नसकेको बताए।
उनले राज्यले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्दा मुलुकले चाहेको आर्थिक विकास पनि हासिल गर्न सहज हुने बताए। ढकालले कोभिडका कारण वैदेशिक रोजगारीमा गएका श्रमिकहरु घर फर्किने तर जाने क्रम रोकिएको, पर्यटकहरु आउने बन्द भएको तथा मूल्यवृद्धि भई आयातमा धेरै पैसा बाहिरिएका कारण अर्थतन्त्रमा समस्या आएको उल्लेख गरे।
तर, कोभिड महामारीको समयदेखि सुरु भएको तरलताको समस्या विस्तारै सहज हुँदै गएको उनको भनाइ छ। ‘कोभिडको समयमा उद्योग व्यवसाय बन्द भए। विदेशबाट रेमिट्यान्स भित्रिने क्रम पनि कम भयो। आयातमा धेरै पैसा बाहिरियो र यसले गर्दा बैंकमा लगानीयोग्य पूँजीको अभाव भयो। तर, अहिले विस्तारै सबै कुरा सकारात्मक हुँदै छन्। यसले के भन्न सकिन्छ भने अबको केही समयभित्र अर्थतन्त्र सहज बाटोबाट अगाडि बढ्छ’, उनले भने।
ढकालले महासंघको तर्फबाट आफूहरुले गरेको निरन्तर पहलस्वरुप नियामक निकाय र अन्य सरोकारवालसम्म कुरा पुगेको र केही कुराहरु सम्बोधन भएको जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।