लेख
म एक जना अरबी हुँ
मेरो कार्ड नं ५०,००० हो
मेरा आठ जना सन्तान छन्
नवौं आउँदो गर्मीमा हुने वाला छ
रिसाएका त छैनौ नि?
लेख लु
म एक जना अरबी हुँ
आफ्ना साथीहरूसँग ढुङ्गा फुटाउँछु
एउटा रोटीको टुक्राका लागि
एउटा पुस्तकको लागि
आफ्ना आठ जना सन्तानको लागि
ढुङ्गालाई निचोर्छु
तर म भिख माग्दिनँ
र तिम्रो दलालीमा
नाक दराल्दिनँ
रिसाएका त छैनौ नि?
लेख
म एक जना अरबी हुँ
अधिकार नभएको
मात्र एउटा नाम
यस उन्मत्त धरतीमा अटल
मेरा जराहरू गहिरा छन
युगौंदेखि गाडिएका छन् ती
म हलो जोत्ने
किसानको छोरा हुँ
खर परालको झुपडीमा बस्छु
मेरो कपाल घना कालो छ
आँखा खैरा
टाउकामा अरबी पगरी गुथ्छु
हत्केलाहरू फुटेका छन्
तेल र अजवाइनले
नुहाउन मन पराउँछु
सबैभन्दा माथि लेख कि
मेरो कसैप्रति घृणा छैन
म कसैलाई लुट्दिनँ
तर जब म भोको हुन्छु
आफूलाई लुट्नेलाई
लुछेर खाइदिन्छु
होसियार !
मेरो भोकदेखि होसियार!
मेरो भोकदेखि होसियार !!
अनुवाद : बलराम तिमल्सिना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।