काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरूले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै त्यसलाई तोडेर अघि जानुपर्ने अवस्था रहेको बताए।
शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअली उद्घाटन गर्दै उनले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरूलाई पराजित गर्नेगरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष ओलीले निकट विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरू अहिले पनि रहेकाले त्यस्ता शक्तिहरूको षडयन्त्रबारे जनतालाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको बताए।
‘विभिन्न राजनीतिक शक्तिहरू एमालेसँग स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन्। तसर्थ, उनीहरू अस्वस्थ प्रतिस्पर्धाका अस्वस्थ तरिकाहरू अपनाउन सक्छन्। हामीले केही देखेका छौं। भोगेका छौं–निकट विगतमा हामीले जुन प्रकारका समस्या भोगेका छौं। त्यस्ता समस्या फेरि आगामी दिनमा भोग्नु नपर्ला भन्न सकिन्न’, ओलीले भने, ‘उनीहरूको फेरि उस्तै किसिमको चक्रव्यूह हुँदैन भन्न सकिन्न। यस्तो स्थितिमा हामीले आफूलाई तयार राख्नु पर्दछ।’
अध्यक्ष ओलीले पार्टीको रक्षामा दृढतापूर्वक उभिन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। पार्टी हितको पक्षमा नउभिने नेता, कार्यकर्तालाई पार्टीले पनि हित गर्ने उनको भनाइ छ। ओलीले आगामी ४ वर्षपछि हुने निर्वाचनमा ५० प्रतिशत भन्दा बढी स्थानमा पार्टीलाई विजयी गराउने गरी पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको स्पष्ट पारे।
‘कमसेकम फिप्टी ओभरको मिसनबाट हामी आगामी निर्वाचनका लागि जुटन थाल्नेछौं। त्यसैकारण यो मिसन ग्रासरुट। ग्रासरुटबाटै आगामी मिसनका लागि हामी तयारी गर्दैछौं। यस दुई महिने अभियान नै आगामी ४ वर्षको अभियान हो’, ओलीले थपे, ‘आगामी ४ वर्षको अभियान कमसेकम यस दुई महिने अभियानले निर्देश गर्नेछ। त्यसको जग बनाउने छ यसले।’
ओलीले एमालेजस्तो पवित्र उद्देश्य भएको पार्टी अरु नरहेको दाबी पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।