काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन्। शुक्रबार नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले उक्त दाबी गरेका हुन्।
उनले संसद्को पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफूहरूको दाबी स्वभाविक रहेको बताए। ‘सन्तुलनका लागि कांग्रेसले अघि सार्ने उम्मेदवारलाई राष्ट्रपति बनाउन प्रयास गर्छौं र कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्नुहुन्छ,’ सिंहले भने।
नेता सिंहले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन कायम हुनुपर्नेमा जोड दिए। कांग्रेसले व्यवस्था परिवर्तन गरेर लोकतान्त्रिक प्रणाली स्थापित गरेको तर यसलाई संस्थागत गर्नका लागि भने धेरै काम गर्न बाँकी रहेको बताएका छन्।
‘जादूको छडी त कोहीसँग छैन। अहिलेका व्यवस्थालाई संस्थागत गर्न नेपालको राजनीति केन्द्रित भइरहेको हामीले मनन् गर्नुपर्छ,’ उनले भने, ‘आलोचना गर्नु राम्रो कुरा हो। असन्तुष्ट हुँदै गर्दा सन्तुष्ट हुनलाई के हुनुपर्छ पनि त भन्नुपर्यो।’
पुस १० को सहमति अनुसार एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने भन्दै दाबी गरिरहेको छ भने माओवादी राष्ट्रिय सहमतिमा बनाउनुपर्ने अडानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।