काठमाडौं– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारमा व्यापारी मात्रै रहेको टिप्पणी गरेकी छन्। शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन्। उनले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको पनि आरोप लगाइन्।
शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीले छोराछोरीलाई अध्ययन गराउन नसक्ने अवस्थामा पुगेको उनको भनाइ थियो। सरकारले दिइरहेको छात्रबृत्ति र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै कार्कीले आपत्ति जनाइन्।
आर्यघाटमा पुर्याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको उनको भनाइ थियो।
‘अहिले त के भयो भयो, शिक्षा व्यापार, स्वास्थ्य व्यापार, हरेक कुरामा व्यापार छ। कतिपय आमाबुबा रोएको देख्छु, पढाउने इच्छा छ, डाक्टर बनाउने इच्छा छ। डाक्टर बनाउने, इन्जिनियर बनाउने इच्छा राखेका छन्। बुबाआमालाई पनि पढाउने रहर छ, छोराछोरीलाई पनि पढ्ने रहर छ, तर हैसियत छैन। जग्गा बेचेको छ, ऋण लिएको छ, घर–जग्गा यी कुराहरु केही पनि होइनन्,’ कार्कीले भनिन्, ‘पढाइका अगाडि घर, जग्गा केही होइनन्। आफ्ना घरका सन्तानलाई राम्रोसँग पढाएको रहेछ भने सन्तान राम्रोसँग पढ्नु नै सम्पति हो। छोराछोरीले कमाएर खाएको घर नै उज्यालो र राम्रो हुन्छ। स्कलरसिप कसले पाउँछ, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन। शिक्षा व्यापार भएको छ।’
अहिले पैसा नभए केही पनि नहुने अवस्था सिर्जना भएको कार्कीले उल्लेख गरिन्। ‘अब अहिले पैसा नभइ केही पनि हुँदैन। आर्यघाटमा जल्न त महङ्गो भइसक्यो,’ उनले भनिन्, ‘कसले डोनेसन देला र दाहसंस्कार होला, कसले डोनेसन देला र लास जल्ला भन्ने भइसक्यो। समाज यो अवस्थामा पुगिसकेको छ।’
पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताइन्। उनले नागरिकलाई गास, बास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै राजनीतिक दलहरु एउटा कुर्सीका लागि भिडेर बसिरहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।