काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले प्राविधिक कारण मात्र आफूहरूले एक दिन ढिला गरेर निर्वाचन खर्च विवरण बुझाएको दोहोर्याएका छन्।
उनले खर्च विवरणको औपचारिकता पूरा नगरेको कारण देखाइ संविधानभन्दा बाहिर गएर कसैको उम्मेदवारीलाई अयोग्य बनाउन पाइन्छ? भन्दै प्रश्न समेत गरेका छन्।
हालै सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशको प्रति सामाजिक सञ्जालमा राख्दै उनले आफ्ना प्रश्नहरू काठमाडौंको मेयरको मात्रै नभएर स्थानीय तहमा उम्मेदवार भएका एक लाखभन्दा बढी उम्मेदवारहरूको तर्फबाट रहेको बताएका छन्।
तोकिएको अवधिभित्र निर्वाचन खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले देशभरका एक लाखभन्दा बढी उम्मेदवारलाई जरिवाना गरेको थियो। जुन जरिवाना यही फागुन मसान्तभित्र बुझाइसक्न भनेको थियो।
त्यसविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर शाह सर्वोच्च अदालत पुगेका थिए। हालै सर्वोच्चले उनको रिटमा सुनुवाइ गर्दै तत्काल जरिवाना नअसुल्न आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो।
बालेनले ३१औं दिनमा खर्च विवरण उपलब्ध गराएको बताएका छन्। 'खर्च विवरण समयमा नै सार्वजनिक गरेका थियौँ। खर्च विवरण समयमा नै निर्वाचन आयोगमा बुझाउन गएका थियौँ तर, तोकिए बमोजिम नभएका कारण निर्वाचन आयोगले दर्ता नगरेको थियो। तिसौँ दिनमा बिदा रहेकाले हामीले एकतिसौँ दिनमा बुझाएका थियौँ', बालेनले भनेका छन्।
उनले समयमा बुझाउनु पर्ने खर्च विवरण नबुझाएकै भए पनि त्यसको जरिवाना कति हुने भन्ने वैज्ञानिक नरहेको टिप्पणी गरेका छन्।
'कुनै पनि कानुनी भुलको जरिवाना जति पनि राख्न पाइन्छ? तोकिएको जरिवाना तिर्न सक्ने ल्याकत सबैको होला? के खर्च विवरण नबुझाउनु वा त्यसवापतको जरिवाना तिर्न नसक्नु फौजदारी कसुर नै हो?', बालेनको प्रश्न छ, 'खर्च विवरणको औपचारिकता पूरा नगरेको कारण देखाइ संविधानभन्दा बाहिर गएर कसैको उम्मेदवारीलाई अयोग्य बनाउन पाइन्छ? जरिवाना हरेक नेपालीको तिर्न सक्ने क्षमताभित्र हुनु पर्छ, समय सान्दर्भिक हुनु पर्छ। नत्र यसले कम सम्पत्ति भएकाहरुलाई जनप्रतिनिधि बन्न निरुत्साहित गर्नेछ। कालान्तरमा जनप्रतिनिधिमुलक लोकतन्त्रलाई नै असर पार्नेछ।'
यी सबै प्रश्नहरुप्रति संवेदनशील भएर सर्वोच्च अदालतबाट आएको आन्तरिम आदेश स्वागतयोग्य रहेको बालेनको भनाइ छ। 'म लगायत स्थानीय तहका १ लाख २३ हजार उम्मेदवारहरुको तर्फबाट धन्यवाद छ', बालेनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।