काठमाडौं– प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिले मस्यौदा पारित गरेको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकले मस्यौदा पारित गरेको हो। प्रतिनिधि सभाको गत माघ १० गतेको बैठकले २१ सदस्यीय मस्यौदा समिति गठन गरेको थियो।
बिहीबार बसेको समितिको बैठकले संवैधानिक अंगको प्रमुख वा सदस्यहरुविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावलाई त्यही संसद्ले टुंगो लगाउन नसकेमा अर्को संसद्ले निर्णय गर्ने अधिकार सुम्पिएको थियो।
पाँच महिनाभित्र महाभियोग प्रस्ताव टुंगो लगाउनुपर्ने, त्यसो हुन नसके द्रुत प्रक्रिया अपनाउन सकिने र त्यस्तो स्थिति पनि नरहेमा अर्को सदनले आवश्यक निर्णय गर्न सक्नेछ।
नियमावली मस्यौदा अनुसार उपभामुखले पनि बैठकको सञ्चालन र स्थगत गर्न सक्नेछ। त्यसका लागि सभामुखले उपसभामुखलाई लिखित निर्देशन दिएमा वा सभामुख काबु बाहिरको परिस्थितिमा परी बैठकमा उपस्थित हुन नसकेमा त्यसो गर्न सक्ने व्यवस्था छ।
त्यस्तै, संसदीय समितिको कार्यक्षेत्रसँग स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगरिने मस्यौदामा उल्लेख छ। यस प्रयोजनका लागि ‘स्वार्थ बाझिने विषय’ भन्नाले प्रचलित कानुन बमोजिम स्वार्थ बाझिने विषयवस्तु भन्ने सम्झिनुपर्ने उल्लेख छ। हाल त्यस्तो कानुन बनिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।