काठमाडौं– काठमाडौं महानगरपालिकाले न्यायिक समितिको राष्ट्रिय सम्मेलनको आयोजना गर्दै छ। चैत २४ ३५ गते आयोजना हुने सम्लेनका लागि काठमाडौं महानगरपालिकाले तयारी गरिरहेको छ।
स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान–प्रदान सम्मेलन आयोजना गर्न लागिएको हो। सम्मेलनको तयारीका लागि उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘न्यायिक समिति मूल समारोह समिति’गठन भएको छ।
महानगरको न्यायिक समितिका सदस्यहरु कुश ढकाल र आशा श्रेष्ठ रौनियार समारोह समितिका सदस्य छन्। यस्तै प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, प्रशासन विभागका प्रमुख दीपक अधिकारी, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धर पनि तयारी समितिका सदस्य रहेका छन्।
बैठकमा उपप्रमुख एवं मूल समारोह समितिकी संयोजक डंगोलले सबै पालिकाबाट न्यायिक समितिको प्रतिनिधित्व गराउने र असल अभ्यास आदान–प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताइन्।
सम्मेलनलाई नतिजामुखी बनाउने, प्राप्त उपलब्धिलाई संस्थागत अभिलेखमा राख्ने र आपसी सिकाई प्रवर्द्धन गर्नेगरी सम्मेलन सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए।
सम्मेलन मुख्य चार विषयमा केन्द्रित हुनेछ। न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलनबारे प्रस्तुति राखिनेछ।
यस्तै स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रिया र यसको प्रवर्द्धनसम्बन्धी विषयमा पनि छलफल हुनेछ। न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रक्रियाहरु तेस्रो प्रस्तुतिका रुपमा रहनेछ।
न्यायिक समितिमार्फत् भएका मिलापत्र र निर्णयको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता तथा त्यसका लागि आवश्यक संस्थागत प्रवन्धबारे पनि छलफल हुनेछ। उक्त सम्मेलनले काठमाडौं विवाद निरुपण घोषणा–२०७९ पनि जारी गर्ने महानगरले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।